अर्थ

तातोपानी नाकाकाे कारोबार सुधारतर्फ

गएको जेठ १५ गतेदेखि सञ्चालनमा आएको उत्तरी तातोपानी नाकाको सुक्खा बन्दरगाह भन्सार। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट यो वर्ष दसैं, तिहारलगायत चाडबाड लक्षित सामग्री पर्याप्त मात्रामा आयात नहुने देखिएको छ। नाकाबाट तयारी पोसाक (लत्ताकपडा) भित्रिन थाले पनि आयात व्यापार अझै उल्लेख्य बढ्न सकेको छैन। नाकाबाट हुने चिनियाँ सामग्रीको आयातमा क्रमिक सुधार आइरहे पनि त्यो पर्याप्त देखिँदैन।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्रकुमार श्रेष्ठ व्यवसायीले चाडबाड लक्षित सामग्री पर्याप्त मात्रामा अर्डर नै नगरेको बताउँछन्। पर्व लक्षित सामग्री अर्डर गर्न ढिलाइ भइसकेको बताउँदै चिनियाँ सामग्री आयातकर्तासमेत रहेका उनले भने, ‘दसैं, तिहारलाई लक्षित गरेर थोरै परिमाणमा सामग्री आयात भए पनि ठूलो मात्रामा भित्रिने सम्भावना छैन।’     
उनका अनुसार दसैं, तिहार लक्षित सामग्री आयात गर्न साउन–भदौभित्र अर्डर गरिसक्नु पर्छ। ‘अहिलेसम्म छिटपुटबाहेक व्यवसायीले पर्याप्त सामग्री अर्डर गरेका छैनन्,’ नाकाका व्यवसायी रहेका श्रेष्ठले भने। चार वर्षसम्म बन्द नाका भर्खरै खुलेकाले यहाँबाट हुने आयात÷निर्यात व्यापार पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको उनको तर्क छ।

२०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याइएको थियो। तर, दुवै नाकाका भन्सार प्रशासन आन्तरिक व्यवस्थापन र तयारीमा जुट्दा एक महिनासम्म व्यापारिक कारोबार सञ्चालनमा आउन सकेन। असार दोस्रो साताबाट बल्ल सञ्चालनमा आएको व्यापारिक कारोबारमा क्रमिक वृद्धि आइरहे पनि पर्याप्त र सन्तोषजनक नरहेको तातोपानी सुक्खा बन्दरगाह भन्सार अधिकारी बताउँछन्।

भूकम्पअघि नाका सञ्चालनमा रहँदा यहाँबाट सबैभन्दा बढी तयारी पोसाक आयात हुन्थ्यो। दसैं, तिहारमा लत्ताकपडा र इलेक्ट्रोनिक सामग्रीको माग र खपत उच्च रहने भन्सारको तथ्यांकले देखाउँछ। सस्तो भएका कारण चिनियाँ सामग्री निम्न तथा मध्यम वर्गीय नेपालीको रोजाइमा पर्दै आएको छ। चाडबाड लक्षित सामग्री अधिक माग हुने भएकाले आउँदो दसैं, तिहारदेखि नाकाको व्यापारिक कारोबार पूर्ववत अवस्थामा फर्कन सक्ने धेरैको अनुमान थियो। तर, नाकाको कारोबार पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय कुर्नुपर्ने देखिएको छ।

तातोपानी भन्सार अधिकृत केशवराज ओली नाका कारोबारमा वृद्धि भइरहे पनि पर्याप्त नरहेको बताउँछन्। ‘दिनप्रतिदिन चिनियाँ सामग्री आयात बढ्दो छ। तर, ठूलो परिमाणमा बढ्न सकेको छैन,’ उनले भने। पछिल्लो समय सातामा १५ कन्टेनरसम्म चिनियाँ सामग्री राजधानी भित्रिरहेको भन्सार तथ्यांक छ। विगतमा नाकाबाट अधिक भित्रने तयारी पोसाक र स्याउको आयात भने सुरु भएको उनी बताउँछन्।

पछिल्लो तीन सातादेखि तयारी पोसाक र स्याउ आयात हुन थालेको भन्सार अधिकृत ओलीले जानकारी दिए। ‘बरु स्याउ आयात बढ्दो छ,’ उनी भन्छन्, ‘राजधानी भित्रिने सामग्रीको आधा हिस्सा स्याउ र तयारी पोसाकले ओगट्ने गरेको छ।’ भन्सारको तथ्यांकअनुसार यसबीचमा १० कन्टेनर स्याउ र १५ कन्टेनर तयारी पोसाक आयात भएको छ। बर्खा सकिनै लागेकाले असोज पहिलो÷दोस्रो साताबाट व्यापारिक कारोबारमा केही सुधार आउने भन्सार अधिकारीको विश्वास छ।

भन्सार तथ्यांकले समेत थोरै भए पनि नाकाको कारोबारमा क्रमिक रुपमा वृद्धि आइरहेको देखाउँछ। साउनअघि व्यापारिक कारोबार सुरु भएको एक महिनामा १५ कन्टेनर सामग्री मात्र आयात भएको थियो। साउनयता मंगलबारसम्म एक सय १२ कन्टेनर सामग्री आयात भएको भन्सारको तथ्यांक छ। यसबापत भन्सारले चार करोड ७१ लाख रुपैयाँ राजस्व असुल गरेको छ। साउनमा दुई करोड ५९ लाख रुपैयाँ राजस्व असुल गरेको भन्सारले भदौयता मात्रै दुई करोड ११ लाख रुपैयाँ संकलन गरेको छ।

व्यवसायी अर्जुन सापकोटा चिनियाँ सहरदेखि नाकासम्म सामग्री ढुवानी गर्ने ट्रान्सपोर्टेसन कम्पनीको समस्याका कारण आयातमा उल्लेख्य सुधार आउन नसकेको बताउँछन्। ‘नाका भर्खरै सञ्चालनमा आएको र बर्खासमेत परेकाले व्यवसायी द्विविधामा रहे,’ उनले भने। उनका अनुसार भूकम्पअघिका पुराना ट्रान्सपोर्टेसन कम्पनी फर्किसेका छैनन्। उनीहरुलाई फर्काउन नोपाली व्यापारीले पहल गरिरहेका छन्। पुराना व्यवसायीले पनि नाकाबाट सामग्री हाल्न सकेका छैनन्।

व्यवसायीका अनुसार सिल्क ट्रान्सपोर्टेसनले मात्र सामग्री ढुवानी गरिरहेको छ। चीनका ग्वान्जावो, इयुलगायत सहरबाट सामग्री बोकेर आउने सिल्कका कन्टेनर भन्सार जाँचपासपछि सिधै राजधानी पुग्छन्। चीनका सहरदेखि राजधानी काठमाडौंसम्मको ढुवानी भाडा चार लाख रुपैयाँसम्म पुग्ने उनीहरु बताउँछन्। स्याउ भने खासामा झारेर त्यहाँबाट अर्को कन्टेनरमा राखी ल्याउने गरिएको छ। बन्द हुनुअघि नाकाबाट वार्षिक २० अर्ब आयात/निर्यात कारोबार हुँदा भन्सारले पाँच अर्ब रुपैयाँ राजस्व संकलन गथ्र्यो।

प्रकाशित: १९ भाद्र २०७६ ०२:४७ बिहीबार

तातोपानी_नाका पर्याप्त सामग्री आयात