अर्थ

व्यवसायिक बन्न सकेन आलुखेती

पाँचथरको देउरालीस्थित खेतमा आलु खन्दै किसान। तस्बिर :गिरिराज/नागरिक

पाँचथर – लेकाली क्षेत्रमा बर्खे आलु खन्ने बेला अन्तिम चरणमा पुगेको छ। घट्दो खेती, रोग किराको आक्रमण तथा उत्पादन राम्रो नहुँदा आलुखेती खस्किँदै गएको छ। पर्याप्त सम्भावना भए पनि आलु खेतीको आधुनिकीकरण तथा व्यवसायीकरण हुन सकिरहेको छैन।

पूर्वी पहाडी जिल्लामा महत्वपूर्ण खेतीको रुपमा आलुलाई लिइन्छ। लेकाली क्षेत्रको आलुको स्वादका पारखीहरु प्रसस्त छन्। सडक भएको ठाँउमा उत्पादन भएको आलु बिक्री गर्न सहज भए पनि आलुखेतीमा पर्याप्त लगानी हुन सकेको छैन। मेची राजमार्ग आसपास र भारतको सीमा क्षेत्रमा आलु बिक्री राम्रैसँग बिक्री भएपछि ठूलोमात्र उत्पादन हुन सकिरहेको छैन।

औल क्षेत्रमा भन्दा पनि लेकाली क्षेत्रमा बढी आलुखेती हुने गर्छ। फराकिलो पहाडका गराहरुमा स्थानीय जातका आलु खेती गरिन्छ। आलु खेतीलाई आधुनिकीकरण र व्यवसायीककरण गर्नेतर्फ ध्यान दिएको देखिँदैन। सम्भवाना भए पनि आलु उत्पादन वृद्धि गर्नेतर्फ ध्यान नपुगेको फालेलुङका किसान राजकुमार राई बताउँछन्। सीमा क्षेत्रमा उत्पादन भएको आलु भारतीय बजारसम्म पुग्ने गरेको किसानको भनाइ छ।

लेकाली आलुमा आकर्षण
फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, याङवरक गाउँपालिका, मिक्लाजुङ र फाल्गुनानन्द गाउँपालिकाको लेकाली क्षेत्रमा बढी आलु फल्छ। जिल्लाको सबै क्षेत्रमा आलु फल्ने गरे पनि किसानको त्यति आकर्षण देखिँदैन। उत्पादन भएको आलु  खाएरै सकिने भएकाले व्यावसायिक रुपमा खेती हुन नसकेको मिक्लाजुङको लेखगाउँका सञ्जय राईले बताए। ‘यहाँको आलु अरुतिर निकै मन पराउँछन् तर, बिक्रीका लागि ठूलो परिमाणमा बजार पु-याउन सकिएको छैन। राम्रोसँग बिक्री हुने भए आलु खेती बढ्थ्यो,’ उनले भने, ‘आलु खेतीका लागि ठाउँ प्रसस्त छ। जनशक्ति र बजारको ग्यारेन्टी छैन।’

तरकारी, खाजाको रुपमा आलु प्रयोगमा आइरहेको छ। मेची राजमार्ग आसपासका गाउँमा  उत्पादन भएको आलु भने सहजै बजार पुग्ने गरेको छ। तराईका विभिन्न जिल्ला र सहरमा यहाँ उत्पादन भएको आलु पुग्छ। प्रतिकेजी ५० रुपैयाँमा सिजनमा आलु बिक्री भइरहेको पाइन्छ। विगतमा भन्दा आलुको उत्पादनमा गिरावट आउन थालेको किसान बताउँछन्। आम्दानीभन्दा पनि घरायसी प्रयोगमा बढी आउने हुँदा ठूलो आकर्षण नदेखिएको उनीहरु बताउँछन्।

यहाँका लेकाली बजारमा आलु खान रुचाउनेहरु प्रसस्त पुग्छन्। टिमुर, पुदिना, चिम्फिङको अचारमा रमाउँदै आलु खानेहरु भेटिन्छन्। राजमार्ग नजिक यस्तो भए पनि ग्रामीण क्षेत्रको आलु व्यसायीकरण हुन नसकेको देखिन्छ। व्यवसायिक रुपमा लेकाली क्षेत्रमा आलु खेती विस्तार गर्न सके आम्दानीको महत्वपूर्ण माध्यम बन्ने मकैबारीका दिपक दुलाल बताउँछन्। निर्वाहमुखी खेती प्रणालीबाट उकास्नुपर्ने उनको भनाइ छ।

आलु उत्पादनमा वृद्धि तथा भण्डारणमा जोड दिनसके उपयुक्त हुने जानकार बताउँछन्। जिल्लामा सिजनमा पनि तराई र भारतबाट आएको आलुको भर पर्नुपर्ने अवस्था छ। स्थानीय उत्पादनले यहाँको बजार माग धानिरहेको छैन। उत्पादन लागत बढी हुँदा स्थानीय उत्पादन केही महंगो हुने गरेको छ। सिजनको माग पूर्ती गर्न उत्पादनमा वृद्धि र अफ सिजनका लागि भण्डारणको उपयुक्त व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

बजार व्यवस्थापन, उत्प्रेरणा, अनुदान, आधुनिकीकरणमा सरकारले ध्यान दिनु पर्ने किसान भनाइ छ। जिल्लामा आलु उत्पादनको प्रसस्त सम्भावना भए पनि बाहिरबाट आएको आलु किनेर प्रयोग गर्नुपर्ने अवस्था छ। आलुखेती विस्तार गर्ने सम्भावाना रहेकाले केही काम अघि बढाउन खोजिएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्ट बताउँछन्।
कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा दुई हजार एक सय हेक्टरमा खेती हुने गर्छ। यो क्षेत्रको विस्तार गर्न सकिने सम्भावना रहेको विष्ट बताउँछन्। यसमध्ये एक हजार चार सय २४ हेक्टरमा बर्खे र ६ सय ७५ हेक्टरमा हिउँदे आलु उत्पादन हुन्छ। जिल्लामा १८ हजार सात सय ४० टन वर्षे र आठ हजार आठ सय १८ टन हिउँदे आलु उत्पादन हुने तथ्यांक ज्ञान केन्द्रसँग छ। बढी मात्रमा  लेकाली क्षेत्रमा आलुखेती विस्तार, बजारीकरण र भण्डारण्मा जोड दिनुपर्ने अवस्था रहेको विष्ट बताउँछन्।

प्रकाशित: १७ भाद्र २०७६ ०३:१३ मंगलबार

लेकाली_क्षेत्र आलु_खेती