अर्थ

समृद्धिका लागि खोज अनुसन्धान आवश्यक : पूर्वमन्त्री पाण्डे

काठमाडाैँ – पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकमा पुस्ताैँदेखि खोज अनुसन्धान नभएकाले विकास नभएको बताएका छन्। शनिबार ललितपुरमा साझा पार्टीले आयोजना गरेको नीति वहस ‘समृद्धि कस्तो र कसरी ?’ विषयक कार्यशालामा विकसित मुलुकको उदाहरण दिँदै उनले भने, ‘हामीसँग आफ्नै स्रोत साधन तथा अनुसन्धान गर्ने परम्परानै छैन। कुल गार्हस्थ उत्पादन झण्डै ३४ अर्ब रुपैयाँमात्र भएकोले लामो समयदेखि देशले विकासको गति लिन नसकेको उनको भनाइ छ।

विगतमा बन्द भएका उद्योग खुला गर्न पहल गर्ने तथा थप नयाँ क्षेत्रमा लगानी गर्ने, कृषि, पशुपालनलगायत खोज अनुसन्धानमा कुल गार्हस्थ उत्पादनको केही प्रतिशत छुट्ट्याउनुपर्ने उनको सुझाव छ।

त्यसैगरी, राष्ट्रियसभा सदस्य बिमला डौड्याल राईले शिक्षामा वर्गीय विभेद, स्वास्थ्य, रोजगानीलगायत क्षेत्रमा लगानी नभएकाले मुलुकले गति लिन नसकेको बताइन्।
रेमिट्यान्समा आधारित देशको अर्थतन्त्र सधैं कमजोर हुने बताउँदै उनले कलकारखाना, उद्योग, कृषिमा लगानी सञ्चालन गर्न सहज वातावरण बनाउनुपर्ने र खाडी मुलुकबाट फर्केका युवालाई मुलुकमै रोजगारी दिई रोक्नुपर्छ।

सोही अवसरमा अर्का पूर्वमन्त्री रामशरण महतले मुलुक समृद्धिका लागि सरकार कमजोर नहुनुपर्ने बताउँछन्। उत्पादन, निर्यात, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा लगानी गरी सही ठाँउमा सही मान्छे भएमात्र समृद्धि सम्भव भएको उनले बताए। बिनातयारी काम गर्ने चलनले विकासको गति ढिला भएको उनले तर्क राखे।

 

 

प्रकाशित: १५ भाद्र २०७६ ०२:५५ आइतबार

सुरेन्द्र_पाण्डे समृद्धि अनुसन्धान