अर्थ

संख्या गनेर र औला भाँचेर मात्रै सहकारीको विकास हुन सक्दैनः मन्त्री अर्याल

काठमाडौं– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताएकी छिन्।

सहकारी विभागले विहीबार सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा गरेको सहकारीमा एकीकरण विषयक छलफललाई सम्बोधन गर्दै मन्त्री अर्यालले नाममात्रका सहकारी मर्जरमा जानुको विकल्प नरहेको बताइन्। संस्था धेरै दर्ता हुँदैमा संस्थाको औचित्य पुष्टि नहुने भन्दै उनले दर्ता गरेर छोडिदिने र बर्षमा एकपटक साधारणसभा गर्ने सहकारीलाई मर्जरमा जान निर्देशन गरिने बताए। 

सहकारीलाई उत्पादनमा जोडि बजारीकरणको व्यवस्था गरिनुपर्ने उल्लेख गर्दे उनले हैसियत नभएका सहकारी संस्थाहरु क्षमतावान र हैसियत भएकासंग मर्जरमा जानुपर्ने बताए। उनले संख्या गनेर र औला भाँचेर मात्रै सहकारीको विकास र प्रवर्द्धन हुन नसक्ने भएकाले उत्पादनमुखी बनाउनका लागि मर्जर अत्यावश्यक रहेको बताए।

सरकारले यसअघि स्वायत्त रहेका सहकारी संस्थाहरुलाई विभिन्न ऐन मार्फत राष्ट्रबैकको अनुगमनको दायराभित्र ल्याउने प्रयास गरिरहेको छ। यसले सहकारीमा मौलाउँदै गएको वेथिति अन्त्य हुने विश्वास गरिएको छ।

प्रकाशित: ५ भाद्र २०७६ १३:१७ बिहीबार

सहकारी मर्जर मन्त्री_पद्मा_अर्याल सहकारी_विभाग