अर्थ

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भक्तपुर – भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँँ प्रविधि नेपाल भित्रिने भएको छ। भट्टामा काँचो इँटा पोल्न वैज्ञानिक आधारमा बर्नरको सहायताले आवश्यकताअनुसार कोइला हाली गुणस्तरीय इँटा उत्पादन गर्न इटालियन प्रविधि भित्र्याउन लागिएको जनाइएको छ।

युरोपमा ६० वर्षअघि प्रयोगमा आइसकेको यो प्रविधि नेपालमा पहिलोपटक भित्र्याउन लागिएको हो। इटालीस्थित वर्निनी इम्पेन्टी एसआरएल कम्पनीबाट यो प्रविधिको मेसिन झिकाउन लागिएको हो।

बंगलादेशका पाँच टनेल क्लिनहरूमा प्रयोग भइसकेको यो प्रविधि गोर्खा इकोरेड ब्रिक्स प्रालि काभ्रेले भित्र्याउने तयारी गरेको हो। यसका लागि प्रालिले कम्पनीका इटालियन इन्जिनियरलाई नेपाल बोलाएर नेपाली इँटा भट्टाको निरीक्षण गराएको छ।

गोर्खा इकोरेडका सञ्चालकमध्ये एक कृष्णभक्त दुवालले नयाँ प्रविधि भित्र्याएर गुणस्तरीय इँटा उत्पादन गर्ने योजना रहेको बताए। यसका लागि कम्पनीका इटालियन अधिकारीलाई नेपालमा बेलाई नेपाली इँटा भट्टा घुमाइसकेको इन्जिनियर दुवालले जनाए।

यो प्रविधिअनुसार इँटा भट्टामा इँटा पोल्न टुक्राटुक्रा पारिएका कोइलाको सट्टामा मिहिन गरेर धूलो पारिएको कोइलाको प्रयोग हुन्छ। हालसम्म इँटा भट्टामा इँटा पोल्न कोइला प्रयोग गर्दा टुक्राटुक्रा कोइलालाई भट्टीमाथिका प्वालबाट कोइला खसालिन्छ। तर, यो प्रविधिबाट सय माइक्रोनसम्म मिहिन गरिएको कोइलालाई तातो हावामा मिसाई इँटा भट्टामा विशेष प्रकारको बर्नरबाट पठाइन्छ।

यो प्रविधिमा इँटा भट्टाभित्रको तापक्रम थर्माेकपल (उच्च तापक्रम मापन गर्ने विशेष प्रकारको थर्माेमिटर) ले नाप्ने गर्दछ। त्यसैले भट्टामा आवश्यकताअनुसार स्वचालित रूपमा विशेष प्रकारको बर्नरबाट कोइला पठाउने र बन्द हुने गर्छ। इँटा पाक्नका लागि नौ सयदेखि एक हजार डिग्री सेल्सियसको तापक्रम आवश्यक हुन्छ। थर्माेकपलले भट्टीभित्रको तापक्रम मापन गरी आवश्यकताअनुसार बर्नरको सहायतामा कोइला भट्टीमा पठाउने गर्दछ।

हालसम्म यो प्रविधि प्रयोग हुन नसक्दा इँटा पोल्न भट्टीमा कोइला हाल्ने मिस्त्रीले अनुभवका आधारमा कोइला राख्ने गर्दछन्। यसले गर्दा कहिले कोइला बढी भएर इँटा डढ्ने त कहिले तापक्रम कम भएर नपाक्नेसमेत हुन्छ।

इँटा पोल्नुअघि काँंचो इँटामा आद्र्रता तीन प्रतिशतभन्दा कम हुनुपर्ने हुन्छ। यो प्रविधि प्रयोग गर्न सके इँटा चाँडो पोल्न सकिने, कोेइला पूर्णरूपमा बल्ने भएर धुँवा कम फाल्ने, हानिकारक कार्बाेन मोनोअक्साइड नफाल्ने, कोइला पूरै बल्ने भई कम मात्र कोइला खपत हुने लगायत फाइदा हुने जनाइएको छ। साधारणतया एक किलो माटोलाई पोल्न तीन सय किलो क्यालोरी ऊर्जा चाहिन्छ।

प्रकाशित: १ भाद्र २०७६ ०२:१६ आइतबार

नयाँँ_प्रविधि इँटा