अर्थ

दूधको मूल्य निर्धारण गर्न कार्यदल

काठमाडौं – किसानले दूधको मूल्य बढाउन दबाब दिए पछि सरकारले मूल्य निर्धारण गर्नका लागि कार्यदल गठन गरेको छ। दूधको उत्पादन लागतका आधारमा अध्ययन गरी मूल्य सिफारिस गर्नका लागि बुधबार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले आठ सदस्यीय कार्यदल गठन गरेको हो।

मन्त्रालयका अनुसार दुग्ध विकास संस्थानका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। उक्त कार्यदलमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास सहकारी, डेरी उद्योग एसोसिएसन, मन्त्रालयका , दुग्ध विकास कम्पनीका प्रतिनिधि सहभागी छन्।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी दिए पछि मन्त्रालयले समिति गठन गरेको हो। समितिले उत्पादन लागतका आधारमा मूल्यको विश्लेषण गरेर मन्त्रालयमा प्रतिवेदन बुझाउने छ। विगत तीन वर्षदेखि दूधको मूल्य वृद्धि नभएकाले मूल्य समायोजनका लागि मन्त्रालयले समिति बनाएको हो। किसानले अहिले फ्याटका आधारमा प्रतिलिटर ४६ रुपैयाँदेखि ५० रुपैयाँ मूल्य पाउँछन्।

उक्त दूध बजारमा उपभोक्ताले ७० रुपैयाँ लिटरमा उपभोग गरिरहेका छन्। पशुआहारा ढुटो, दाना, चोकर र कृषि श्रमिकको ज्याला बढेकाले लागतको आधारमा किसानले प्रतिफल पाउन नसकेकाले मूल्य बढाउन अनुरोध गरेको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताए।  भदौ १ बाट मूल्य नबढे दुग्ध उत्पादक किसान देशव्यापी रुपमा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए।
 

प्रकाशित: ३० श्रावण २०७६ ०३:४२ बिहीबार

मूल्य न_कार्यदल