अर्थ

एमपिपिएम कोर्ष सुरु गर्दै कुसोम

काठमाडौं – युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा नीजि क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट) कोर्षको अध्यापन गर्ने भएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार राजधानीमा आयोजना गरेको नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र महत्वबारे गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो।

सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, बिमालगायत कमर्सियल हाउसमा नीति निर्माण गर्न र कार्यान्वयन गर्ने सीप सिकाउन उक्त दुईवर्षे कोर्ष अध्यापन गर्न लागेको जनाएको छ।

कलेजका डिन विजय केसीले नेपालमा सार्वजनिक प्रशासन कमजोर हुन थालेकाले सार्वजनिक नीति र व्यवस्थापन कोर्ष जरुरी भएको बताए। अन्तरक्रियामा आइआइडिएसका कार्यकारी निर्देशक विष्णुदेव पन्तले नेपालमा भ्रष्टाचार फैलिँदै गएकाले यो कोर्ष पढ्न जरुरी भएको बताए।

कुसोमका अच्यूत वाग्लेले नेपालमा नीति भएको तर लागू हुन सकेको बताए। ‘योजना कार्यान्वयन हुन सकेका छैनन्,’ वाग्लेले भने। कुसोमले अनुसन्धान गर्ने संस्था ‘इन्स्टिच्युट फर इन्टग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आइआइडिएस)को सहकार्यमा उक्त कोर्ष अध्यापन लागेको जनाएको छ।

प्रकाशित: २८ श्रावण २०७६ ०२:३८ मंगलबार

सार्वजनिक_नीति अध्यापन