अर्थ

सुक्खा बन्दरगाह सुचारु

सिर्सिया सुक्खा बन्दुगाहको निकास। तस्विरः रितेश त्रिपाठी/नागरिक

वीरगन्ज – भन्सार क्लियरिङ एजेन्टका प्रतिनिधि र सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सविच बिवादले गर्दा ठप्प हुन पुगेको सुक्खा बन्दरगाह सोमबार छलफल बसी समाधान निकाल्ने गरी सुचारु भएको छ।

बिहीबार मध्यान्नदेखि एजेन्टका प्रतिनिनिधले कामकाज बन्द गरेका कारण ठप्प हुन पुगेको सुक्खा बन्दरगाह शुक्रबार समेत दिनभरी चलेन। यसले राजस्व संकलन पनि रोकिएको भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत विष्णु शर्माले बताए। सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार शुक्रबार साझ सहमति भएपछि शनिबार बिहानदेखि सुचारु भएको हो।

भारतका कोलकता, हल्दिया र विशाखापटनम बन्दरगाहबाट नेपाललाई रेल लाइनमार्फत जोड्ने देशको एक मात्र सुक्खा बन्दरगाह ठप्प हुँदा त्यहाँस्थित भन्सार कार्यालयको राजस्व संकलन पनि ठप्प भएको थियो। ‘बिहीबारदेखि हामीले समाधानको प्रयास गरेको हो,’ शर्माले भने, ‘कामकाज सुरु गरेर असहमतिका बुँदामा त्यसपछि समेत छलफल जारी राखेर समाधान निकालौं भनेका हौं।’ भन्सार राजस्वसम्बन्धी बैठकका लागि काठमाडौं रहेका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले सोमबार बैठक बसेर छिनोफानो गर्ने टेलिफोनमा प्रतिबद्धता गरेपछि एजेन्ट प्रतिनिधि काममा फर्किएको भन्सार स्रोतले बतायो।

‘म काठमाडौंतिर भए पनि विवाद चलिरहँदा निरन्तर सम्पर्कमा थिएँ,’ प्रमुख भन्सार अधिकृत श्रेष्ठले भने, ‘मैले सोमबार छलफल राखेको छु।’ कन्टेनर ओसार्ने रिच स्ट्रेकर ६ वटा प्रयोगमा राख्नुपर्ने सम्झौतामा रहे पनि हिमालयन टर्मिनल्सले चारवटा मात्र राखेको र त्यसमध्ये एउटा बिग्रेको अवस्थामा रहेको र अन्य ढिलासुस्तीका कारण आफूहरुलाई समस्या रहेको एजेन्टको आरोप छ। कन्साइनमेन्टउपर शुल्क थोपार्नका लागि कम्पनीले यस्तो गरेको भन्दै एजेन्टले रिस पोखे।

हिमालयन टर्मिनल्सका प्रमुख कार्याकारी अधिकृत विष्णुकान्त चौधरीले आफूहरुको कारण नभई एजेन्ट प्रतिनिधिकै शैलीले ढिलासुस्ती हुने गरेको बताए। बिहान ८ बजेदेखि भन्सार खुले पनि एजेन्ट ढिला आउने र राति अबेरसम्म गाडी लैजान दिने दबाब दिन चाहेको उनले बताए। ‘बेलैमा काम सकाएर भन्सार पास भइसकेको समान लैजानु पर्नेमा त्यस्तो गर्दैनन्,’ उनले भने, ‘राति १० बजेपछि उनीहरुको दबाबअनुसार हामीले कसरी गाडी निस्किन दिने ? हाम्रो अधिकार क्षेत्रमै त्यो छैन। अर्को दिन लगेपछि नियमअनुसार लाग्ने शुल्क त उनीहरुले तिर्नुपर्छ भनेका छौं।’ मुख्य रुपमा यार्डमा राखिएको गाडिमा लिइने शुल्क जाँचपास भइ निकासी हुन बाकी गाडीमा नलाग्नु पर्ने एजेन्टका प्रतिनिधि दावी गरेका छन्। चौधरीले आफुहरु सम्झौताको दायरामा र भन्सारका नियमहरुको मातहतमा रहेर राम्रो सेवा दिन खोजिरहेको दावी गरे।

प्रकाशित: २० श्रावण २०७६ ०४:०५ सोमबार

सुक्खा_बन्दरगाह क्लियरिङ_एजेन्ट