अर्थ

नेपाली बजारमा सुनको मूल्य छोइ नसक्नु, इतिहासकै महंगो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। नेपाल सुन चाँदी व्यवसायी संघले आइतबार छापावाल सुनको प्रतितोला मूल्य ६६ हजार ३ सय रुपैयाँ कायम गरेको छ।

शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महंगो मूल्यमा कारोवार भएको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ताको आकर्षण बढेपछि नेपाली बजारमा ह्वात्तै भाउ बढेको  महासंघले जनाएको छ।

पछिल्लो समय सुन महँगो भएपछि बजारमा सुन किन्न आउनेको भिड कम हुने गरेको छ। मूल्य आकासिएपछि पुराना सुन बिक्री गर्ने ग्राहक बढेका छन् भने नयाँ सुन किन्न आउने ग्राहक नै नभएको व्यवसायीहरु बताउँछन्।

जहाँ सुनको मूल्य आकासिएको छ, त्यहीँ चाँदीको मूल्य भने स्थिर अवस्थामा छ। चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १९ श्रावण २०७६ १०:३७ आइतबार

सुन मूल्य नेपाली_बजार नेपाल_सुन_चाँदी_व्यवसायी_संघ तोला