अर्थ

कर्मचारीविहीन भन्सार कार्यालयः वर्षेनी करोडौं राजस्व गुम्दै

बेवारिसे रुपमा मुगु गाउँका एक स्थानीयको घरमा टाँगिएको मुगु भन्सार कार्यालयको साईन बोर्ड । तस्बिरः सुमन/मुगु

मुगु– चीनको स्वशासित क्षेत्र तिब्बतसंग नाका जोडिएको मुगु भन्सार कार्यालय वर्ष भरि नै कर्मचारी विहिन बन्दै आएको छ भने वर्षेनी करोडौं राजस्व गुम्दै आएको छ। लामो समयदेखि जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा मुगु भन्सार कार्यालय स्थापना भएको देखिन्छ।

स्थानीयको एक घरको बाहिर पट्टि कार्यालयको बोर्ड टाँसिएको भए पनि कर्मचारी को हुन? कहाँ छन भन्ने पनि कसैलाई जानकारी छैन्। हरेक वर्ष साउनको अन्तदेखि तिब्बतसँगको व्यापार नाका खुला भएर दुई देशबीचको व्यापार व्यवसाय गर्न कम्तिमा १५ दिनसम्म हाट सञ्चालन हुने भए पनि व्यवस्थित भन्सार नहुँदा वर्षेनी करोडौं राजस्व गुम्दै आएको छ। नेपाल तर्फबाट विशेष गरि यार्सा गुम्बा, वन लसुन, चिराईतो, भुत केस, सेतो चिनी, अत्तिसलगायतका मुल्यवान जडिबुटी तिब्बत जाने र तिब्बतबाट लत्ता कपडा, च्याङ्गग्रा, दैनिक उपभोग्य वस्तु चिनी, चिया, चामल, नुन, घिऊ , पेय पदार्थ तथा ठुलो परिमाणमा चिनिया मदिरा आयात हुने गरेको भए पनि भन्सार शुल्क भने शुन्य प्रायः देखिएको छ।

देश संघीय संरचनामा गई सके पछि पनि राजश्व संकलनको पुरै दायित्व अर्थ मन्त्रालय मातहत रहने भएकाले गाउँपालिकाले त्यसमा हस्तक्षेप गर्न नमिल्ने मुगुम कार्मारोङ्ग गाउँपालिका अध्यक्ष छिरिङ्गक्याप्ने लामाले बताए। हरेक वर्ष भन्सार कार्यालय विभागले नाका खुल्ने बेला कर्मचारी पठाउने तर अरु बेला कार्यालय बन्द रहने गरेको अध्यक्ष लामाले बताए। नाका खोल्ने समय आई सक्दासम्म पनि भन्सार विभागले कर्मचारी नपठाए पछि जिल्ला स्थित सरोकारवाला निकाय बसेर कर्मचारी छिटो पठाउन भन्सार विभागलाई पत्र पठाएको अध्यक्ष लामाले बताए।

विगतमा कर्मचारी कहाँ गए के गए भन्ने कुरा जिल्ला प्रशासन कार्यालयसँग हुने भए पनि संघीयता आएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई कर्मचारी को कहाँ भन्ने जिम्मेवारी रहेकाले केही दिन अघि कोष नियन्त्रक, गाउँपालिका अध्यक्षसहित जिल्ला प्रशासन कार्यालयमा बैठक बसि मुगु भन्सारका लागि कर्मचारी पठाउन भन्सार विभागलाई लेखि पठाएको र रामप्रसाद लामिछाने खटाईएको भन्ने जानकारी आए पनि खटिई आउने कर्मचारी आफ्नो सम्पर्कमा नआएको जिल्ला प्रशशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। साउन २५ गतेबाट नाका खुल्ने भएको छ।

प्रकाशित: १९ श्रावण २०७६ ०८:५८ आइतबार

भन्सार कमर्चारी राजस्व