अर्थ

सहकारी बजार प्रवर्द्धका लागि सहयोग गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रकम बुझाउन बिहीवार प्रधानमन्त्री निवास पुगेको राष्ट्रिय सहकारी महासंघको टोलीसँग प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : नागरिक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत उत्पादन वृद्धि गर्दै उत्पादित वस्तुको बजार व्यवस्थापनमा सघाउन सरकार तयार रहेको बताएका छन्। बाढी पहिरो प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा रकम बुझाउन बिहीबार प्रधानमन्त्री पुगेको राष्ट्रिय सहकारी महासंघको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।

ओलीले ठूलो मात्रामा कृषि उत्पादन गर्न जोड दिँदै सहकारीमार्फत गरेको उत्पादनको बजार अभाव हुन नदिने बताए। ‘सहकारीले स्केल अफ प्रोडक्सन बढाउनुपर्छ,’ उनले भने, ‘उत्पादनले बजार पाएन भने प्रवद्र्धनमा सघाउछौं।’ देशभित्रको बजारमा उपभोग गर्न सकेन भने विदेश पनि लैजान सकिने उनले बताए।

प्रधानमन्त्रीले किसानले उत्पादन गरेको वस्तु सोझै उपभोक्तासम्म पु-याई किसान र उपभोक्ता दुवै लाभान्वित हुने अवस्था सिर्जना गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको नेतृत्वको टोलीले ओलीलाई १० लाख एक हजार एक सय एक रुपैयाँ प्रदान गरेको थियो।

महासंघको प्राकृतिक विपत्ति उद्धार कोष, विभिन्न सहकारी संघ÷संस्था, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) एवं राष्ट्रिय सहकारी बैंकबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो। बडालले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ सोचलाई पूरा गर्न र दिगो विकास लक्ष्यअनुरूप नेपालको सहकारी अभियानले कृषि उत्पादन, वितरणका साथै वित्तीय सेवा प्रवाह गर्दै आएको बताए।

प्रकाशित: १७ श्रावण २०७६ ०३:०४ शुक्रबार

केपी_शर्मा_ओली सहकारी उत्पादन बजार