अर्थ

ह्वावेकाे आम्दानी २३.२ प्रतिशतले बढ्यो

काठमाडौं –  ह्वावेले सन् २०१९ को पहिलो ६ महिनाको आफ्नो व्यापार आय सार्वजनिक गरेको छ। घोषित आय अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.२ प्रतिशतले बढेर ४.०१ खर्ब चिनियाँ युआने पुगेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले सन् २०१९ को पहिलो ६ महिनाको अवधिको खुद नाफा ८.७ प्रतिशतले बढेको जनाएको छ।
उत्पादनमा निरन्तर वृद्धि र वायरलेस नेटवर्क, अप्टिकल ट्रान्समिसन, डेटा कम्युनिकेसन्स, आइटी र डोमेनसँग सम्बन्धित उत्पादनको सिपमेन्ट जस्ता कारणले ह्वावेको क्यारियर बिजनेसतर्फ बिक्रीबाट आर्जित आय १.४६ खर्ब चिनियाँ युआन पुगेको उल्लेख छ। हालसम्म कम्पनीले ५० व्यावसायिक फाइभजी अनुबन्ध प्राप्त गर्न सफल भइसकेको र विश्वभर एक लाख ५० हजारभन्दा बढी बेस स्टेसन रहेको जनाएको छ।

सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय ३१.६ अर्ब चिनियाँ युआन रहेको पनि कम्पनीले जनाएको छ।

क्लाउड, आटिफिसियल इन्टेलिजेन्स, क्याम्पस नेटवर्क, डेटा सेन्टर, इन्टरनेट अफथिङ्स र इन्टेलिजन्ट कम्प्युटिङजस्ता विभिन्न डोमेनमा आफ्नो आइसिटी पोर्टफोलियोलाई निरन्तर रूपमा सुदृढ तुल्याइरहेको कम्पनीले जनाएको छ।

कम्पनीको कन्ज्युमर बिजनेसतर्फ पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय २.२० खर्ब चिनियाँ युआन पुगेको तथा सिपमेन्ट संख्या ११.८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले बढी हो।

ह्वावेको ट्याब्लेटहरू, पिसी कम्प्युटरहरू तथा वेयरेबलहरूको सिपमेन्टतर्फ पनि उत्साहजनक वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ श्रावण २०७६ ०२:२१ शुक्रबार

ह्वावे व्यापार आय