अर्थ

बहाना भत्किएको सडक र पेनस्टक पाइप जडान

काठमाडौं - ऊर्जा अभावमा महŒवपूर्ण भूमिका निभाउने भनिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना गत पुसमा सम्पन्न गर्ने सरकारको लक्ष्य थियो। चार सय ५६ मेगावाटको यो आयोजना पछिल्लो लक्ष्यभन्दा सात महिना ढिलो भइसकेको छ। तर, सरोकारवाला मन्त्रालय भने लक्ष्य एक वर्ष पर सारेर पन्छिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालै तयार पारेको प्रतिवेदनमा आयोजनासम्म जाने सडकको दुरवस्था र भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान कार्यमा ढिलासुस्ती भएकाले लक्ष्य फेला नपारेको उल्लेख छ।

‘भर्टिकल साफ्टमा पेनस्टक पाइप जडान गर्ने काम ज्यादै जटिल भएकाले धेरै समय लागेको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘हालसम्म आयोजनाको ९८.८ प्रतिशत कार्य सम्पन्न भई पेनस्टक पाइप जडान भइरहेको अवस्था छ। सम्पूर्ण कार्य चालु आवभित्र पुरा भएर  विद्युत् उत्पादन सुरु हुनेछ।’ आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावरले खाडीचौरदेखि चरिकोटसम्म सडकको दुरवस्थाका कारण पेनस्टक पाइप ढुवानी र भर्टिकल साफ्ट मा पेनस्टक पाइप (ठाडो सुरुङ) जडान कार्यमा ढिलासुस्ती भएकाले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको जनाएको छ। निर्माण अवधि लम्बिनुमा स्थानीयको अवरोध, वन क्षेत्र, प्रसारण लाइन र वित्तीय व्यवस्थापनलाई पनि कारण मानिएको छ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट दुईको पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय टेक्स्म्याको कम्पनीको आलटाल र ढिलासुस्तीकै कारणले काम अघि बढाउन नसकेपछि तल्लो ठाडो सुरुङ (लट तीन) को  पाइप जडानको ठेक्का अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको थियो। अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्स्म्याको र एन्ड्रिज हाइड्रोबीच त्रिपक्षीय सम्झौता गरेर काम अघि बढाइएको थियो।
कम्पनी सिइओ विज्ञानप्रसाद श्रेष्ठले आयोजनाको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यमा ढिलाइ भएकाले लक्ष्यअनुसार काम गर्न नसकेको बताए।

‘ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यमा केही ढिलाइ भयो,’ उनले भने, ‘अहिले तीव्र गतिमा काम भइरहेको छ।’ सिइओ श्रेष्ठले माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्य १० प्रतिशत सम्पन्न भएको बताए।

‘प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी चैतको दोस्रो साताभित्र पहिलो युनिटबाट ७६ मेगावाट जलविद्युत् उत्पादन हुने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ,’ उनले भने, ‘निर्देशन अनुसार नै तीव्र गतिमा काम भइरहेको छ।’ बाँकी पाँचवटा युनिटबाट आर्थिक वर्ष ०७६÷७७ भित्र बिजुली उत्पादन गर्न निर्देशन आइरहेको छ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सुरुवाती चरणमा ३५ अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने अनुमान गरिएको थियो। पछिल्लो समय आयोजनाको लागत बढेर ७३ अर्बभन्दा धेरै पुग्ने अनुमान छ।

तीन सय ७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा अब पाँच मिटर लम्बाइ र २७ टन तौलका ७० वटा पाइप जडान गर्नुपर्छ। त्यसैगरी, माथिल्लो सुरुङमा तीन सय १० मिटरको पेनस्टक पाइप जडान गर्नुपर्ने हुन्छ। जुन काम निकै जटिल मानिन्छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङ प्रत्येक महिना आयोजनास्थल पुगेर अनुमगन तथा आवश्यक निर्देशन दिँदै आएका छन्। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना ०७३÷७४ भित्रै निर्माण सम्पन्न गरेर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। भूकम्प, नाकाबन्दी र ठेकेदार कम्पनीको ढिलासुस्ती, आलटालले निर्माण सम्पन्न हुन सकेन।

पछिल्लो समय ०७५÷७६ को पुस मसान्तभित्र सम्पन्न गर्ने एकीकृत तालिका सार्वजनिक गरिएको थियो। तर, ठेकेदार कम्पनीले सुरुङमा पेनस्टक पाइप जडान गर्न नसकेपछि आयोजनाको काम प्रभावित भयो। पछिल्लो समय आयोजना चालु आर्थिक वर्ष ०७६÷७७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा सात सय ६० मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। एक सय ९५.०८ मेगावाट बिजुली मात्रै उत्पादन भएको छ।

प्रकाशित: १६ श्रावण २०७६ ०३:२१ बिहीबार

ऊर्जा माथिल्लो_तामाकोसी पाइप