अर्थ

२४ लाखभन्दा बढी राजस्व संकलन

ओखलढुंगा – अस्थायी ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले २४ लाखभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा वर्षभरी कारबाहीमा परेका विभिन्न साना–ठूला सवारी साधनबाट उक्त राजस्व संकलन गरेको हो।

कारबाहीमा परेका सवारीसाधनबाट २४ लाख २९ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख पदमप्रसाद भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार वर्षभरीमा चार हजार ४१ साना–ठूला सवारी चालक कारबाहीमा परेका छन्।

सबैभन्दा बढी लापरबाही गरेर सवारी चलाउने चालकबाट राजस्व संकलन भएको छ। लापरबाही गरी सवारी चलाउने एक हजार तीन सय चालकबाट सात लाख राजस्व संकलन भएको हो। मादक पदार्थ सेवन गरी सवारी चलाउने ४८ र सिटबेल्ट नबाधी सवारी चलाउने ६० चालकबाट ७८ हजार राजस्व संकलन भएको उनले बताए।

ओभरलोड बोक्ने एक सय १५ सवारीबाट ५७ हजार पाँच सय र बिना सवारी चालक अनुमतिपत्र सवारी चलाएका चार सय ९२ जनाबाट पाँच लाख ४९ हजार पाँच सय राजस्व संकलन भएको छ। साथै सवारी कागजपत्र साथमा नभएका, बिना हेलमेट मोटरसाइकल चलाउने दुई हजार २६ जनाबाट वर्षभर ११ लाख दुई हजार राजस्व संकलन भएको अस्थायी ट्रफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७६ ०३:१२ सोमबार

ओखलढुंगा ट्राफिक_प्रहरी राजस्व_संकलन