अर्थ

तरकारीको मूल्य अचाक्ली

बुटवलको हाट बजारमा तरकारी किन्दै उपभोक्ता। तस्बिर : रेखा/नागरिक

बुटवल – बाढीपहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मूल्य अचाक्ली बढाएका छन्। डुवानले तराईको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लामा बाटो अवरुद्ध हुँदा आपूर्ति हुन नसकेको भन्दै मूल्य तीन गुणा बढाइएको छ। भारतीय तरकारीको विषादी परीक्षण र भिसिटिएसको किचलोलाइ पनि व्यापारीले मूल्य बढ्नुको कारण देखाएका छन्।

अहिले बजारमा ४०–५० रुपैयाँ पाउभन्दा घटीमा कुनै पनि तरकारी पाइँदैन। दुई साताअघिसम्म ५०–६० रुपैयाँका प्रतिकिलोमा पाइने टमाटरको भाउ अहिले एक सय २० देखि एक सय ५० रुपैयाँसम्म पुगेको छ। एक मुठा सागको ५०–६० रुपैयाँ छ। सिमी किलोको दुई सय रुपैयाँ छ। बोडी प्रतिकिलो एक सय ६० रुपैयाँ पर्छ। परबरको भाउ किलोको एक सय रुपैयाँ छ। काँक्रोलाई एक सय ५० रुपैयाँ पर्छ। भिन्डी र तितेकरेला एक सय २०, काउली एक सय ५० र हरियो खुर्सानी एक सय ६० रुपैयाँ किलो छ। सिमला मिर्च एक सय ६०, लौका ८० र घिरौंला सय रुपैयाँ किलो पर्छ। आलुको मूल्य खासै बढेको छैन। प्याज किलोको ५० रुपैयाँ पुगेको छ। अदुवा र लसुनको मूल्य पनि अत्यधिक बढेको छ। लसुन पाउको ८० र अदुवा ६० रुपैयाँ छ।

वर्षाका कारण तरकारीको माग र आपूर्तिमा तालमेल नमिल्दा मूल्य बढेको व्यापारीको भनाइ छ। उपभोक्ताले तिर्ने मूल्य अत्यधिक बढाइए पनि किसानले त्यस अनुसारको भाउ पाएका छैनन्। तरकारीको मूल्य बढ्नुमा बिचौलिया व्यापारीको हात रहेको बताइन्छ। तरकारी आयात कम भएको भन्दै बिचौलिया व्यापारीले आफूखुसी मूल्य बढाएका हुन्।

बुटवलको हाट बजारमा तरकारी व्यापार गर्दै आएका डोरबहादुर घर्तीले बिचौलियाबाटै महँगो तिरेर किन्नुपर्ने भएकाले बिक्री मूल्य सोही अनुसार राखिएको बताए। ‘हामीले किसानसँग तरकारी किन्न पाउँदैनौं । बिचौलिया व्यापारीले किसानसँग किनेको तरकारी उनीहरुले जति भन्छन् त्यत्ति मूल्यमा किन्नु पर्छ र किनेको मूल्यमा १०–१२ रुपैयाँ नाफा राखेर उपभोक्तालाई बेचेका छौं,’ घर्तीले भने।

किसानबाट सस्तोमा किने पनि आम उपभोक्ताले खरिद गर्ने बजार तथा पसलहरुमा तरकारीको मूल्य छोई नसक्नु छ। तरकारी बजारको यो महँगीले आम उपभोक्ता मर्कामा परेका छन्। शंकरनगरकी जमुना आचार्यले हरियो तरकारीको मूल्य छोई नसक्नु भएपछि भन्छा कसरी चलाउने भन्ने चिन्ता थपिएको बताइन्।

‘दुई सय रुपैयाँ किलोको तरकारी किनेर कति दिन भान्छा चलाउने ?’ आर्चायले गुनासो गरिन्। उपभोक्ता हित संरक्षण मञ्चका लक्ष्मण बैदवारले देश विपत्मा डुबेको मौका छोपेर बिचौलिया र व्यापारीले कालोबजारी गरिरहेको बताए। बर्खामा हरियो तरकारीको मूल्य बढ्नु स्वाभाविक भए पनि किसानबाट किनेको मूल्यभन्दा दोब्बर/तेब्बर बढीमा उभोक्तालाई बेच्नु कालोबजारी हुने बैदवारको भनाइ छ। ‘किसानले ८० रुपैयाँमा बेचेको सिमी उपभोक्ताले किन्दा दुई सय रुपैयाँ तिर्नुपर्ने अवस्था आउनु कालोबजारी नभएर के हो ?’ बैदवारले प्रश्न गरे। व्यापारीहरु भने तरकारी बजारको यो महँगी स्वाभाविक भएको प्रतिक्रिया दिन्छन्। थोक मूल्य नै बढेकाले फुटकर मूल्य पनि बढेको बुटवलका तरकारी व्यापारी कृष्ण भुसालले बताए।

तरकारीको मात्रै होइन माछा, मासुको मूल्य पनि अस्वाभाविक बढेको छ। गत सातासम्म आठ सय रुपैयाँ प्रतिकिलो रेहको खसी मासुको भाउ एकैचोटि नौ सय रुपैयाँ पु¥याइएको छ। कुखुराको मासु प्रतिकिलो चार सय रुपैयाँ पर्छ। कुखुराको मासुमा प्रतिकिलो २० देखि ४० रुपैयाँ मूल्य बढाइएको छ। बजारमा खसीबोकाको अभाव भएकाले मूल्य बढेको तिलोत्तमा–२, स्थित आँधीखोला मिट सप शंकरनगरका ऋषिराम रानाभाटले बताए। भारतबाट आयात रोकिँदा बजारमा खसीबोकाको अभाव भएको व्यवसायी बताउँछन्। तरकारी र माछा–मासुको मूल्य अस्वाभाविक बढे पनि अनुगमन गर्ने निकाय भने मूकदर्शक छ।

अनुगमन नहुँदा बिचौलिया, व्यापारीले मनपरी मूल्य बढाएका छन्। सरकारी निकायले अनुगमन गरी अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणतर्फ चासो नदेखाएको उपभोक्ताको गुनासो छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अनुगमनको तयारी भइरहेको बताए। भैरहवामा केही दिनअघि अनुगमन गरिएको र बुटवल, तिलोत्तमा, लगायत क्षेत्रमा पनि अनुगमन गरिने उनले बताए। अनुगमनको अधिकार अहिले स्थानीय तहलाई पनि  भएकाले स्थानीय सरकार पनि उपभोक्ताप्रति जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

रुपन्देहीमा मागको अनुपातमा तरकारीको उत्पादन कम  हुने र बर्खाको समयमा अधिकांशले खेतमा धान रोप्ने भएकाले आयातित तरकारीमा भर पर्नु पर्छ। तरकारी थोक बिक्रेता संघका अनुसार रुपन्देहीमा दैनिक करिब २५ टन तरकारी  खपत हुन्छ। जिल्लाका विभिन्न स्थानका साथै आसपास जिल्ला तथा सल्यान, पाल्पा, चितवन, धादिङ, मकवानपुर तथा भारतबाट आलु–प्याज तथा हरियो तरकारी आयात हुन्छ। रुपन्देहीको मर्चवार, धकधही, देवदह लगायतलाई तरकारी पकेट क्षेत्रका रुपमा विस्तार गरी व्यावसायिक खेती गरिए पनि यसले माग धान्न सकेको छैन।

प्रकाशित: १२ श्रावण २०७६ ०२:५५ आइतबार

तरकारी मूल्य_बढ्नु आपूर्ति विषादी_परीक्षण