काठमाडौं - नेपाल राष्ट्रबैंकले चालू आर्थिक वर्षमा उच्च आयातका कारण मुलुकको अर्थतन्त्र समस्यामा जाने संकेत गरेको छ। गभर्नर चिरञ्जीवी नेपालले बुधबार सार्वजनिक गरेको चालू आवको मौद्रिक नीतिमा चालू वर्ष विदेशी विनिमय सञ्चिति घट्दै जाने र यसले अर्थतन्त्रलाई समस्यामा पार्न सक्ने संकेत गरेको हो।
‘बाह्य क्षेत्र स्थायित्वका लागि चालू आवमा कम्तीमा पनि सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्नेगरी मौद्रिक व्यवस्थापन गरिनेछ,’ नीतिमा भनिएको छ। कुनै पनि मुलुकमा ६ महिनाको वस्तु तथा सेवा आयात धान्नेभन्दा तल विदेशी विनिमय सञ्चिति हुनुलाई राम्रो मानिँदैन। विगतमा एक वर्षभन्दा बढीको वस्तु तथा आयातलाई पुग्नेगरी विदेशी विनिमय सञ्चिति हुँदै आएको थियो। गत जेठसम्म यस्तो सञ्चिति आठ महिनालाई मात्र पुग्ने अवस्थामा छ। राष्ट्रबैंकले यस्तो सञ्चिति चालू आवमा झनै घट्ने संकेत गरेको हो। यो हाम्रोजस्तो अर्थतन्त्र भएको मुलुकका लागि शुभ संकेत होइन।
यसअघिका मौद्रिक नीतिले कम्तीमा ८–१० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखेको देखिन्थ्यो। तर यो वर्ष सात महिनामा झारिएको छ। यसले बाह्य क्षेत्र आगामी दिनमा अझै चुनौतीपूर्ण बन्दै जाने संकेत गरेको हो। मुलुकमा प्रत्येक वर्ष उच्च दरले बढेको व्यापार घाटा र त्यही अनुसार बढ्न नसकेको निर्यातका कारण यस्तो अवस्था आएको हो।
विगतमा एक वर्षभन्दा बढीको वस्तु तथा आयातलाई पुग्नेगरी विदेशी विनिमय सञ्चिति हुँदै आएको थियो। गत जेठसम्म यस्तो सञ्चिति आठ महिनालाई मात्र पुग्ने अवस्थामा छ।
शोधनान्तर घाटा बढी वैदेशिक मुद्रा सञ्चितिमा कमी आए एकातिर सरकारले वैदेशिक ऋण र सावा तिर्न समस्या पर्न सक्छ भने अर्कोतिर मुलुकलाई आवश्यक पर्ने सामान आयात गरी त्यसको भुक्तानी दिन सकिँदैन। अहिले रेमिट्यान्स वृद्धि नघटेका कारण मात्र व्यापार घाटा उच्च भए पनि समस्या आइहालेकोे छैन। तर आगामी दिनमा मुलुकको अर्थतन्त्र समस्यामा पर्न सक्ने सम्भावना मौद्रिक नीतिले संकेत गरेको छ।
गत आवमा चूलिएको व्यापार घाटा, त्यसैअनुसार बढ्न नसकेको निर्यात, शोधनान्तर स्थिति, चालू खाता घाटा, महँगी, विदेशी विनिमय सञ्चितिको घट्दो अवस्थालगायत नकारात्मक परिसूचक देखिएका छन्। अर्थतन्त्रलाई विगतमा जस्तै रेमिट्यान्सले मात्रै भरथेग गरेको छ।
जेठसम्ममा चालू खाता घाटा दुई खर्ब ४८ अर्ब ७२ करोड पुगेको छ। यस्तै शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा छ। अघिल्लो वर्ष यो चार अर्ब ३४ करोडले घाटामा थियो। कुल विदेशी विनिमय सञ्चिति अघिल्लो असारमा ११ खर्ब दुई अर्ब ५९ करोड रहेकोमा यो जेठमा १० खर्ब ३० अर्ब ८८ करोडमा झरेको छ।
गत जेठसम्म आयात २० प्रतिशतले बढेको छ। निर्यात पनि करिब १८ प्रतिशतले बढेको छ। तर आयात र निर्यातबीचको खाडलका कारण निर्यातमा आएको सुधारले विशेष महŒव राख्न सकेको छैन। व्यापार घाटा १२ खर्ब रुपैयाँ हुँदा रेमिट्यान्स आठ खर्ब आएको छ। यस्तो अवस्थामा निर्यात भने एक खर्बको पनि हुन सकेको छैन।
अघिल्ला वर्षहरुमा व्यापार घाटाभन्दा रेमिट्यान्सको वृद्धिदर उच्च भएकाले शोधनान्तर बचत हुँदै आएको थियो।
निर्यात बढाउने र आयात घटाउने कार्यक्रम ल्याएर अर्थतन्त्रमा सुधार गर्न नसके अर्को वर्ष झनै दबाब पर्ने संकेत मौद्रिक नीतिको हो।
अहिलेका समस्या समाधानका लागि व्यापार घाटा कम गर्न सरकारले आयात घटाउने उपाय अपनाउनुपर्छ। कृषिजन्य वस्तुको उत्पादन बढाउने र अनावश्यक वस्तुको आयात रोक्नुपर्छ। सुन, गाडी र पेट्रोलियम पदार्थजस्ता अनुत्पादक क्षेत्रको आयात घटाउन सके पनि अर्थतन्त्रलाई फाइदा पुग्नेछ।
प्रकाशित: ९ श्रावण २०७६ ०२:५९ बिहीबार