अर्थ

मेगा बैंक १० वर्षमा

काठमाडौं – मेगा बैंक नेपाल १० वर्षमा प्रवेश गरेको छ। विगत नौ वर्षको समीक्षा गर्दै बैंकले शाखा सञ्जाल विस्तारमा झण्डै आठ गुणा, एटिएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सिर्जनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको जनाएको छ।

सरकारद्वारा तोकेका कृषि, पर्यटन र जलविद्युत् क्षेत्रको व्यावसायिक प्रवद्र्धन गर्न लगानी वृद्धि गर्दै जाने तथा सोही अनुरुप सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचय तथा आर्जन गरेको भरोसा र विश्वास कायम राख्न बैंकसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थालाई आवद्ध गर्दै अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प नभएको जनाएको छ।

वार्षिक उत्सवकै अवसर पारेर बैंकले ‘एक शाखा, एक छोरी’ छात्रवृत्ति योजनाको घोषणा गरेको छ। छोरीको उज्ज्वल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट एक–एकजना छात्रालाई छनोट गरी १२ कक्षासम्मको अध्ययनका लागि आर्थिक सहायताको सुरुवात भइसकेको जनाएको छ।

एक सय दुई शाखा र १९ एक्सटेन्सन काउन्टर, एक सय दई एटीएम मेसिन, एक सय १९ शाखारहित बैंकिङ केन्द्र र २५ सय मेगा रेमिट एजेन्टमार्फत सेवा दिँदै आएको बैंकले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७६ ०४:१९ बुधबार

मेगा_बैंक १०_वर्ष प्रवेश