काठमाडौं – तोकिएको समयभन्दा छिटो सुरुङ निर्माणको काम सकाएर प्रशंसा बटुलेको भेरी बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावर हाउस निर्माणलगायतको कामको ठेक्का अनुमानित लागतभन्दा करिब ३३ प्रतिशत कममा लागेको छ।
हेडवक्र्स र पावर हाउस निर्माणका लागि करिब नौ अर्ब रुपैयाँ लाग्ने आयोजनाले लागत अनुमान तयार गरेको बेला चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सनले संयुक्त रूपमा ६ अर्ब १२ करोड रुपैयाँमा ठेक्का कबोल गरेका हुन्। ठेक्का लाग्नुअघि बजार र स्थानीय तहको महंगी र श्रम शक्तिलाई ध्यानमा राखी आयोजनाको लागत मूल्यांकन गर्ने गरिन्छ।
भेरी बबईमा पनि सोही प्रक्रिया अपनाइएको आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले बताए। उनका अनुसार ठेक्का प्रतिस्पर्धामा रहेका पाँच ठेकेदार कम्पनीमध्ये ग्वाङ्डोन–युनाटियन–रमण जेभीले सबैभन्दा कम रकम कबोल गरेकाले सोही कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी पाएको हो।
‘बोलकबोलका आधारमा छनोट भइसकेको उक्त जेभीसँग सम्बन्धित कुनै कानुनी अड्चनलगायत गुनासा भए सात दिनभित्र सूचना दिन आसयपत्रसमेत जारी भइसकेको छ,’ उनले भने, ‘यस अवधिमा कानुनले बन्देज गरेका कुनै सूचना प्राप्त नभए आयोजनाको हेडवक्र्स, पावर हाउस, सर्ज ट्र्याकलगायतको काम गर्ने जिम्मा ग्वाङ्डोन–युनाटियन रमण जेभीले पाउने छ।’ आसय पत्रको अवधि सकिन दुई दिन बाँकी रहेको उनले जानकारी दिए। उक्त आयोजनका लागि पाँच कम्पनीले टेन्डर हालेका थिए।
पाँच प्रतिस्पर्धी ठेकेदार कम्पनीहरुमा यो कम्पनीले अरुको भन्दा मूल्य बोलकबोल गरेको थियो। ठेक्का लागतभन्दा तीन अर्ब रुपैयाँ कममा ठेक्का लिइएको छ
कम रकम कबोल गर्नेलाई ठेक्का दिनुपर्ने सार्वजनिक खरिदको नियम भएकाले कममा कबोल गर्नेलाई निर्माणको जिम्मा दिने निर्णय भएको उपाध्यायले बताए। अनुमानित लागतभन्दा करिब ३३ प्रतिशत कममा काम लिन खोजेपछि कतिपयले समयमै काम सम्पन्न हुनेमा प्रश्न गरेका छन्। आर्थिक वर्ष ०७९/८० सम्म आयोजनाको हेडवक्र्स र पावरहाउसलगायत सबै काम पूरा गर्ने लक्ष्य राखिएको छ।
आयोजनाको १२.४ किमि लामो सुरुङ वैशाखमा बे्रक थु्र गरिएको थियो। अब दोस्रो चरणमा बाँध, पावर हाउस, सर्ज ट्रयाक निर्माण गर्न लागिएको हो। आयोजनाबाट बर्दिया र बाँकेको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु-याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ। भेरी नदीको पानीलाई सुर्खेतको चिप्लेमा बाँध निर्माण र हात्तीखालमा विद्युत्गृह बनाएर बबईमा झार्ने योजना छ।
बाँध निर्माणमा भइरहेको ढिलाइले सुरुङ केही वर्ष उपयोगमा आउने छैन। स्थानीयले सुरुङ खन्ने र बाँध निर्माणको काम सँगसँगै हुनुपर्ने विगतदेखि नै माग गर्दै आइरहेका थिए। तर, आयोजनाको ध्यान सुरुङ निर्माणमा केन्द्रित रहँदै आएको थियो। सुरुङ निर्माणको काम २०७४ कात्तिकदेखि सुरु भएको थियो। आयोजनाका कर्मचारी भने सुरुङ निर्माणको काम एक वर्ष छिटो भएकाले बाँध निर्माणको तयारी नपुगेको जस्तो देखिएको बताउँछन्।
हेडवक्र्ससहित अन्य काम सम्पन्न नहुँदासम्म १० अर्ब रुपैयाँ खर्च गरी निर्माण गरिएको सुरुङ उपयोगमा आउने छैन
हेडवक्र्ससहित अन्य काम सम्पन्न नहुँदासम्म १० अर्ब रुपैयाँ खर्च गरी निर्माण गरिएको सुरुङ उपयोगमा आउने छैन। कतिपय व्यक्तिले लामो समयसम्म सुरुङ प्रयोगमा नआउँदा क्षतिग्रस्त हुन सक्ने अनुमान गर्छन्। तर, सिँचाइ विभागका इन्जिनियरहरू भने उपयोगमा नआउँदैमा सुरुङ क्षतिप्रस्त नहुने दाबी गर्छन्।
उक्त आयोजनाको सुरुङ खन्न पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको हो। सुरुङ निर्माणको काम सकिएसँगै उक्त काम गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप (कोभेक)ले गरेको हो। सुरुङ निर्माण कार्य सकिएपछि कोभेकले टिबिएम अन्यत्र लैजाने उपाध्यायले बताए। सुरुङ खन्न प्रयोग गरिएको टिबिएम ठेकेदार कम्पनीको निजी हो। आयोजनाको सुरुङ खन्न करिब १० अर्ब खर्च भएको थियो। टिबिएम प्रयोग गरी नेपालमा पहिलोपटक सुरुङ खनिएपछि अब अन्य स्थानमा समेत सुुरुङ खन्न बाटो खुलेको विज्ञहरू बताउँछन्।
वर्षौंअघि आयोजनाको निर्माण सुरु भए पनि टिबिएम प्रयोग नहुँदा काममा निकै ढिलासुस्ती हुँदै आएको थियो। सुरुमा करिब १६ अर्ब लाग्ने अनुमान गरिएको उक्त आयोजनामा अब ३३ अर्ब १९ करोड रूपैयाँ लागत लाग्ने गुरुयोजना बनाइएको छ।
प्रकाशित: ८ श्रावण २०७६ ०४:०९ बुधबार