अर्थ

मेगा बैंकको रणनीति

भोजबहादुर शाह

२०६७ साल साउन ७ मा जन्मेको मेगा बैंकले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको आज ९ वर्ष पुगेको छ। बैंक स्थापनाको झण्डै ३ वर्षका हरेक क्षण हाम्रा लागि अत्यन्त कहर/पट्यारलाग्दा थिए। एक अर्ब ६३ करोड १० लाख रुपैयाँ चुक्ता पुँजीबाट वित्तीय कारोबार सुरु गरेको बैंकले उक्त आवमा १३ वटा शाखा कार्यालय र १६ वटा एटिएमसहित शाखा सञ्जाल विस्तार गरेको थियो। स्थापनाको ९ औं वार्षिकोत्सव मनाइरहँदा १०२ वटा शाखा कार्यालय, १९ वटा एक्सटेन्सन काउन्टर, १०२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्र र झण्डै २५०० मेगा रेमिट एजेन्टहरुको व्यापक सञ्जाल लिएर देशका ५३ जिल्लामा वित्तीय कारोबारलाई सञ्चालन गरिरहेको छ।

आव २०७५/७६ आषाढ मसान्तसम्मको अप्रकाशित लेखा विवरण अनुसार झण्डै ८२ अर्ब कुल निक्षेप र ७३ अर्बको कुल कर्जा प्रवाह गरेको यस बैंकले आव २०७५/७६ को लागि प्रक्षेपण गरेको खुद मुनाफाको लक्ष्य पार गरिने प्रारम्भिक आंकलन रहेको छ। केही वर्षदेखि हिउँदका महिनामा आर्थिक तरलताको अभावमा लगानी योग्य रकमको खाँचोको चाप पर्नाले वित्तीय बजारमा नकारात्मक ढंगबाट असर परेको देखिन्छ। जसका कारणबाट निक्षेप संकलनमा  तीव्र र अस्वस्थ प्रतिस्पर्धा हुने र निक्षेपको ब्याजदर १३.५ प्रतिशतसम्म पुगेको यथार्थबाट हामी सबै परिचित छौं।

नेपाल राष्ट्र बैंकको सकारात्मक पहलबाट संस्थागत निक्षेपको सिमा लगाएपश्चात् बजारमा निक्षेपको प्रतिस्पर्धात्मक वातावरणमा केही खुकुलो देखिए पनि आर्थिक तरलताको आपूर्ति पर्याप्त मात्रामा हुन नसक्दा समस्या समाधानतर्फ उन्मुख भएको पाइँदैन। सरकारी बजेट अनुसारको विकास रकम खर्च हुन नसक्दा बजारमा आर्थिक तरलताको प्रवाह पर्याप्त मात्रामा नहुने जस्ता कारणले बैंक/वित्तीय संस्थाहरुमा निक्षेपको आपूर्ति एकातर्फ मागको तुलनामा कम हुने र अर्कोतर्फ आयकरको अग्रिम भुक्तानीका लागि पुस/चैत मसान्तमा बैंक/वित्तीय संस्थाहरुबाट अग्रिम कर भुक्तानीका लागि ठूलो रकम सरकारी कोषमा जम्मा हुने भएतापनि उक्त जम्मा भएको रकम विकास र पुँजीगत खर्चतर्फ प्रवाह गर्न नसक्ने विगतको प्रवृत्तिले यस क्षेत्रमा समस्या उत्पन्न गरेको छ।

बैंकिङ व्यावसायले स्प्रेड रेटको आधारमा आफूलाई जिवन्त बनाएको हुन्छ। गत वर्ष ४.७५ प्रतिशत कायम रहेको स्प्रेड रेट २०७६ असार मसान्तपछि ४.५ प्रतिशत हुनुपर्ने र व्यावसायिक संगठनहरुको माग र दबाब त्यो रेट ३.५ प्रतिशतमा झार्नुपर्ने भन्ने रहेको छ। नेपालको सन्दर्भमा कुनै पनि व्यावसायिक कारोबारहरुमध्ये आर्थिक सुशासन र नियम अनुपालनाका दृष्टिकोणले बैंकिङ/वित्तीय क्षेत्र सबैभन्दा व्यवस्थित तथा पारदर्शी रहने गरेको पाइन्छ। केही सीमित ५–७ वटा बैंकहरुको खुद मुनाफाको प्रतिशत १५ प्रतिशतभन्दा माथि रहे पनि अधिकांश बैंकहरु (८० प्रतिशत बैंकहरु) को खुद मुनाफाको अंश चुक्ता पुँजीको आधारमा ५ देखि १५ प्रतिशत कायम हुने गरेको छ। के माथि उल्लेखित खुद मुनाफा लगानीकर्ताको लागि अस्वाभाविक हो त ? यो विषयलाई निष्कर्षमा लैजान नेपाल बैंकर्स एसोसिएसनले समेत ढिला गर्नु हुँदैन।

पुँजी/निक्षेपको अधिकतम ८० प्रतिशत सीमाको सिसिडी रेसियोभित्र रहेर विभिन्न क्षेत्रगत व्यवसाय÷परियोजनाहरुमा लगानी गर्नुपर्ने व्यवस्थाले नेपाल सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमूलक व्यवसाय तथा प्राथमिकताका क्षेत्रमा पर्याप्त कर्जा प्रवाह गर्न नसकिने अवस्था रहेको छ।

उत्पादन तथा रोजगारमूलक ठूला उद्योग÷व्यावसायिक परियोजनाहरुमा लगानी गर्ने क्षमताको अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बैंक/वित्तीय बजारमा प्रतिस्पर्धी गर्ने क्षमताको विकास तथा अन्य विविध कारणहरुबाट वाणिज्य बैंकहरुको चुक्ता पुँजीलाई केही वर्षभित्र नै एक अर्बबाट दुई अर्ब र दुई अर्बबाट आठ अर्बको वृद्धिको प्रसंग सेलाउन नपाउँदै अहिले आएर बिग मर्जरले चर्चा पाएको छ। तसर्थ बिग मर्जरको अवधारणालाई आवश्यक सचेतनताका साथ उपायहरु अवलम्बन गरी अपेक्षाकृत सफलता प्राप्त गर्नुपर्ने हुन्छ।

नेपाल सरकारले तय गरेको नारा ‘समृद्ध नेपाल तथा सुखी नेपाली’ त्यति बेला साकार हुन सक्छ जब नेपाल आर्थिक दृष्टिकोणले समृद्ध बन्छ। त्यो समृद्धिको यात्रामा हरेक तह÷तप्का÷वर्ग÷लिंग र भूगोलका नेपालीले सहभागिता जनाउन पाउँदा मात्र त्यसले सार्थकता प्राप्त गर्न सक्छ।

रोजगारमूलक तथा उत्पादकत्व वृद्धि गर्ने व्यावसाय/उद्योग एवं परियोजनामा लगानी अभिवृद्धि हुँदा मात्र आयात प्रतिस्थापन भई निर्यात प्रवद्र्धन हुन सक्छ। तसर्थ मेगा बैंक नेपाल लिमिटेडले ५ वर्षे रणनीति तर्जुमा गर्दा निम्न तथ्यहरुलाई दृष्टिगत गरेको छ :
१. मेगा बैंक नेपाल लि.को व्यापार प्रवद्र्धनलाई देशका ७ वटै प्रदेशका ७७ वटै जिल्ला सदरमुकाम मात्र नभएर आर्थिक तथा व्यापारिक कारोबारका केन्द्र, हुलाकी तथा मध्यपहाडी राजमार्गस्थित व्यापारिक केन्द्रहरु, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकामा शाखा कार्यालयहरु, एक्सटेन्सन काउन्टरहरु, शाखारहित बैंकिङ केन्द्रहरु, एटिएम मेसिनहरु र मेगा रेमिट सेन्टर/एजेन्टहरु मार्फत गुणस्तरीय, सुरक्षित र भरपर्दो एवं आत्मीय बैंकिङ सेवाको विकास एवं विस्तार गर्ने।

२. केन्द्रीय कार्यालय सहित ७ वटै प्रदेशहरुमा आफ्नै घर–जग्गामा प्रादेशिक कार्यालय सञ्चालन गर्ने कार्य योजना।

३. सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत्का क्षेत्रमा व्यावसायिक प्रवद्र्धन गर्न लगानी वृद्धि गर्दै जाने।

४. सोही अनुरुप व्यापार प्रवद्र्धन गरिएका क्षेत्रका समुदायहरुसँग अन्तरघुलित हुन सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेश सरकारहरुसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्दै प्राथमिकीकरण गरी सामाजिक उत्तरदायित्वको बजेट खर्च गर्ने नीति लिने।

५. संस्था प्रति भरोसा र लगानी गर्नेतर्फ आशा जगाउन लगानीकर्ताहरुलाई वित्तीय बजारको औसत रकमभन्दा बढी चुक्तापुँजीमा प्रतिफल वितरण गरी स्वस्थ वित्तीय संस्थाको रुपमा बैंकलाई स्थापित गर्ने।

यी उल्लेखित सोच र अवधारणालाई मेगा बैंकको टिमले हराउन दिनु हुँदैन। यसले वित्तीय बजारमा प्राप्त गरेको परिचयका साथ साथै आर्जन गरेको भरोसा र विश्वासलाई बरकरार राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढ्नुको विकल्प हामीसँग छैन। (शाह मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष हुन्।)

प्रकाशित: ७ श्रावण २०७६ ०३:१६ मंगलबार

मेगा_बैंक स्थापना व्यापक_सञ्जाल