अर्थ

मलंगवामा व्यापारीको जुलुस

सर्लाही – सरकारी कदमविरुद्ध सदरमुकाम मलंगवामा उद्योगी व्यापारीले विरोध जुलुस निकालेका छन्। सरकारले मुलुकभर साउन १ गतेदेखि लागू गरेको ‘भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ (भिसिटिएस), कामदारले अनिवार्य प्यान नम्बर बनाउनुपर्ने, कामदारलाई बैंकमार्फत भुक्तानी गर्नुपर्ने लगायत व्यवस्थाविरुद्ध उद्योग वाणिज्य संघ मलंगवाको आयोजनामा विरोध जुलुस प्रदर्शन भएको हो। मोहरसिंह धर्मशालाबाट निस्किएको व्यापारीको जुलुसले विभिन्न नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो।

नगर परिक्रमापछि व्यापारीको जुलुसले जिल्ला प्रशासन कार्यालय मलंगवामार्फत सरकारलाई ज्ञापनपत्र बुझायो। नयाँ व्यवस्था तत्काल स्थगन गरेर निजी क्षेत्रको सुझाव अनुसार उद्योगी व्यापारीलाई समेत अनुकूल हुने गरी ऐन परिमार्जन गर्नुपर्ने मागसहित विरोध जुलुस आयोजना गरिएको उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष हरिशंकर साह (ईश्वर) ले जानकारी दिए।

सरकारले लागू गरेको प्रणाली अव्यावहारिक भएको भन्दै व्यापारी आन्दोलित भएका हुन्। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने सम्बन्धमा सरकारको पनि सहभागिता हुनुपर्ने लगायतको माग व्यापारीले राखेका छन्।

प्रकाशित: ६ श्रावण २०७६ ०३:२४ सोमबार

भिसिटिएस उद्योगी_व्यापारी विरोध