अर्थ

पाइपलाइन परिक्षण गर्न माेतिहारीबाट डिजेल पठाइयाे

वीरगन्ज – मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट परीक्षणस्वरूप १ लाख लिटर इन्धन पठाइएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले मोतिहारी डिपोबाट पहिलोपटक अमलेखगन्जस्थित निगमको डिपोमा पुग्नेगरी डिजेल पठाइएको हो। परीक्षण सफल भए संघीय सरकारबाट औपचारिक उद्घाटनपछि त्यसैबाट इनधन आपूर्ति हुन थाल्ने नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पाइपलाइन योजना कार्यालयले जनाएको छ।

पाइपलाइनका योजना विज्ञ शरद पौडेलका अनुसार डिजेलअघि पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो। पानीपछि ‘टिज’ भन्ने रसायन (केमिकल) पठाएर पाइपलइन सफा गरिएको छ। अब डिजेल भित्रिँदै गरेको उनले जानकारी दिए। ‘हाइड्रो टेस्टिङ’ भनिने पानीवाला परीक्षण सफलतापछि ‘आइओसी’ले डिजेल पठाएको नेपाल आयल निगम (एनओसी) पेट्रोलियम पपाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए। ‘बुधबार मोतिहारीबाट डिजेल हालिएको छ, बिहीबार बेलुकासम्म अमलेखगन्ज आइपुग्ने कुरा छ,’ उनले नागरिकसित भने, ‘त्यसपछि औपचारिक रूपमै उद्घाटन गरेर पाइपलाइनबाट डिजेलको नियमित आपूर्ति हुनेछ।’

योजना कार्यालयका अनुसार पाइपलाइनको पेट्रोलियम फ्लो मापन उपकरण र नियन्त्रण कक्षको कम्प्युटर जडान गर्ने काम भइरहेको छ। यसबाहेक अरू सबै काम पूरा भइसकेको र केही दिनभित्र काम पनि पूरा भइसक्ने कार्यालयको भनाइ छ। आगामी अगस्त १५ भित्र भारतीय स्वधीनता दिवस पारेर नेपाल–भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम बनिरहेको निगमका अधिकारीले बताएका छन्। भारत भ्रमणमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर योजनाको कार्यारम्भ गरेका थिए।

भारत बिहारको पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतिहारीबाट ६९ किमिको दूरीमा पर्ने बाराको अमलेखगन्जस्थित निगमको डिपो पाइपलाइनबाट जोडिएको हो। सो डिपो नेपाल–भारत सीमामा रहेको वीरगन्जको शंकराचार्य द्वारमा रहेको प्रवेशबिन्दुबाट ३६.२०६ किलोमिटरको दूरीमा छ। भारतीय सरकारको सहयोगमा स्थापित मोतिहारी–अमलेखगन्ज पाइपलाइन सञ्चालनबाट नेपालको वार्षिक २ अर्ब रुपैयाँ जोगिने बताइएको छ।

दैनिक सयौं ट्यांकरबाट उत्सर्जित हुने कार्बन जोगिँदा यसबाट पर्यावरणको रक्षा र सडकमा चाप न्यूनीकरण हुने बताइएको छ। राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको चुहावटलगायत समस्या समाधान हुने योजनाको दाबी छ। प्रारम्भिक योजनाअनुसार पाइपलाइनबाट हाललाई डिजेल मात्र ल्याउने तयारी छ। सुरुमा रक्सौल–अमलेखगन्ज पाइपलाइन योजना रहेकोमा आइओसीले रक्सौल डिपोलाई मोतिहारी सार्ने भएपछि पाइपलाइनको दूरी पनि लम्बिएको थियो। नेपालतिर पाइपलाई अझ भित्रसम्म विस्तार गर्ने सम्भाव्यता रहेको निगमको भनाइ छ।

प्रकाशित: ३ श्रावण २०७६ ०४:२३ शुक्रबार

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम_पाइपलाइन परीक्षण