अर्थ

दुग्ध संस्थानको नाफा पौने पाँच करोड

काठमाडौं– सरकारी स्वामित्वका अधिकांश सार्वजनिक संस्थान घाटामा गइरहेका बेला दुग्ध विकास संस्थाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पौने पाँच करोड रुपैयाँ नाफा कमाएको छ।

१२ सय दुग्ध उत्पादक सहकारी संस्थामार्फत दैनिक दुई लाख लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको संस्थानले चैतसम्म चार करोड ८५ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। संस्थानले ५१औं वार्षिकोत्सवको अवसरमा बुधबार उक्त जानकारी गराएको हो। संस्थानले ग्रामीण क्षेत्रमा दुई अर्ब दुई करोड रुपैयाँको दूध खरिद गरेको पनि जनाएको छ।

४६ जिल्लाबाट करिब दुई लाख किसानबाट दूध खरिद गर्दै आएको छ। संस्थानका अहिले पाँचवटा चिस्यान केन्द्र, आठवटा प्रशोधन केन्द्र रहेका छन्। संस्थानमा हाल करिब दुई लाख किसान आबद्ध छन्। संस्थानले गत वर्ष पाँच करोड ४६ लाख लिटर दूध खरिद गरेको थियो। संस्थानका बालाजु, विराटनगर, हेटौंडा, पोखरा, लुम्बिनी, नेपालगन्ज, कोहलपुर, जनकपुर, धनगढीमा डिडिसीका दुग्ध वितरण आयोजनामार्फत दूग्ध उत्पादक किसानलाई सघाउँदै आएका छन्।

वार्षिकोत्सवको अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले संस्थानले उपभोक्तालाई गुणस्तरीय दूध बिक्री गर्नुपर्ने बताए। संस्थानलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिँदै गुणस्तरीय दूध बिक्री गर्न मन्त्री खनालले सुझाव दिए। खनालले बजारसँग प्रतिस्पर्धी भएर अघि बढ्न आग्रह गरे। ‘प्रतिस्पर्धा गर्न सक्नुहुन्न भने बन्द गर्नुहोस्,’ उनले भने।

कार्यक्रममा मन्त्रालयका सह–सचिव विमलकुमार निर्मलले संस्थानलाई सेवामुखी बनाउन आग्रह गरे। ‘गुणस्तरीय दुग्धजन्य वस्तु उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘नयाँ प्रविधि प्रयोग गर्नु आवश्यक छ।’ ‘मिल्क होलिडे’को अन्त्य भएर किसानले दूधको उचित मूल्य पाएको संस्थानका महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेले बताए।

प्रकाशित: २ श्रावण २०७६ ०८:१५ बिहीबार

दुग्ध_संस्थान नाफा