अर्थ

किसानलाई ४८ लाखको कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण गरिँदै। तस्बिर ः नागरिक

चितवन - पूर्वी चितवनको खैरहनी नगरपालिकाले किसानलाई ४८ लाख रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको छ। कृषि कार्यमा किसानलाई सहयोग पु¥याउने उपकरण र औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा रहेका कृषि सहकारी र कृषि समूहमार्फत किसानलाई सामग्री हस्तान्तरण गरिएको खैरहनी नगरपालिकाको कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे बताउँछन्।

किसानलाई धान काट्ने मेसिन (रिपर) र ड्याङ बनाउने मेसिन वितरण गरिएको छ। नगरपालिकाको ३८ लाख ४० हजार र किसानको नौ लाख ६० हजार रुपैयाँ लगानीमा कृषि सामग्री वितरण गरिएको उनले बताए। कृषि समूह र सहकारीलाई १२ वटा धान काट्ने मेसिन र र नौवटा ड्याङ बनाउने मेसिन प्रदान गरिएको छ। धान काट्ने मेसिनलाई दुई लाख ६५ हजार र ड्याङ बनाउने मेसिनलाई एक लाख ८० हजार रुपैयाँ पर्ने घिमिरेले जानकारी दिए।

नगरपालिकाले वडा नम्बर ६ को साना किसान कृषि सहकारीलाई दुईवटा रिपर र दुईवटा ड्याङ बनाउन, लालीगुँरास कृषि फर्मलाई दुईवटा ड्याङ बनाउने मेसिन, अनिष फर्मलाई एउटा ड्याङ बनाउने मेसिन, वडा नम्बर २ को लौडारी गाई फर्मलाई एक रिपर र एक ड्याङ बनाउने मेसिन, मिलिजुली कृषक समूहलाई एक रिपर दिएको छ। यस्तै, वडा नम्बर ९ को बाग्लुङ्गे कृषक समूहलाई एक रिपर, आधुनिक कृषि फर्मलाई एक रिपर र एक ड्याङ बनाउने मेसिन, वडा नम्बर १० को महिला साना किसान कृषि सहकारीलाई दुई रिपर, हरियाली महिला कृषक समूहलाई एक रिपर दिएको छ।

वडा नम्बर १२ को कपिया माछापालन सहकारीलाई एक रिपर, धमला कृषि फर्मलाई एक ड्याङ बनाउने मेसिन, वडा नम्बर १३ को साना किसान कृषि सहकारीलाई दुई थान रिपर र एक थान ड्याङ बनाउने प्रदान गरेको छ। कृषि उत्पादन लिन किसानले लगाउनुपर्ने लगानी घटाउन र प्रविधिको प्रयोगमा जोड दिन कृषि उपकरण वितरण गरिएको खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया बताउँछिन्। आधुनिक कृषि औजारको प्रयोगले उत्पादन गर्दाको लागत घट्नुका साथै कम समयमै किसानले उत्पादन भित्राउन सक्ने उनको भनाइ छ।

कृषि समूह र सहकारीलाई प्रदान गरिएको उपकरण किसानले आवश्यकताअनुसार प्रयोग गर्न सक्नेछन्। कृषि कार्यबाट धेरैभन्दा धेरै लाभ लिन सामूहिक खेती प्रणालीमा जानुपर्ने उनी बताउँछिन्। यसले किसानको आर्थिक वृद्धिमा टेवा पुग्ने उनले बताईन्। वडा नम्बर ६ को साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष राधिका कुमारी क्षेत्री नगरपालिकाले अनुदानमा दिएको उपकरणले सहकारीमा आबद्ध कृषकलाई सजिलो हुने बताउँछिन्। यसअघि धान काट्न, ड्याङ बनाउन मानिसको भर पर्नुपर्ने हुँदा समय र खर्च धेरै लाग्ने गरेकामा अब खर्च कम लाग्ने भन्दै उनले खुसी व्यक्त गरिन।

प्रकाशित: २ श्रावण २०७६ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App