अर्थ

बजार खुल्दा किन्नेको भिड

काठमाडौं – साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार नेप्से ४.४५ बिन्दुले बढेको हो।

बिहान ११ बजे बजार खुल्नेबित्तिकै किन्नेको चाप बढ्दा नेप्से अघिल्लो दिनको तुलनामा झण्डै २५ बिन्दुले उकालो लाग्यो। तर, यो वृद्धि धेरैबेर टिक्न सकने। सुरुमा लगानीकर्तामा देखिएको उत्साह लगत्तै घट्न थाल्यो र करिब पौने दुई घन्टा गिरावटको क्रम जारी रह्यो।

बजार खुलेको दुई मिनेटमै १२८५.४९ बिन्दु छोएको नेप्से १ बजेर ४५ मिनेट जाँदा मंगलबारको सबैभन्दा तल्लो बिन्दु १२५६.६९ मा आयो। त्यसपछि मन्द गतिले बढेको परिसूचक बजार बन्द हुँदा १२५९.०१ मा पुग्यो।

मंगलबारको कारोबारलाई हेर्दा सुरुमा लगानीकर्तामा उत्साह देखिएको र क्रमशः त्यो उत्साह सेलाउँदै गएको देखिएको छ। बजार सुरु हुँदा खरिदमा चाप परे पनि त्यसपछि कमजोर भएको देखिन्छ। लगानीकर्ताले चालु आर्थिक वर्षको साँवाब्याज र कर भुक्तानी गरिसकेको र आगामी वर्ष राम्रो हुने अनुमानमा खरिदकर्ता उत्साहित हुँदा परिसूचक बढेको हो।

मंगलबार कारोबार भएका सबै उपसूचक बढेका छन्। सबभन्दा बढी होटलको र सबभन्दा कम म्युचुअल फन्डको उपसूचक बढेको छ। नेप्सेका अनुसार बैंकिङ ४.१३, होटल ५६.०८, विकास बैंक ५.९९, हाइड्रोपावर १.१६, फाइनान्स ५.१४, निर्जीवन बिमा १०.४६, उत्पादनमूलक ७.०९, अन्य २.२३, लघुवित्त ५.५, जीवन बिमा १.७३ र म्युचुअल फन्डको सूचक ०.४८ बिन्दुले बढेको छ।

सेयर परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको भन्दा कम छ। सोमबार ४३ करोड पाँच लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा मंगलबार ३४ करोड ७२ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ। यो आइतबारको २८ करोड ५२ लाख रुपैयाँ को तुलनामा भने ६ करोड २० लाख रुपैयाँले बढी हो। मंगलबार १९ लाख ५६ हजार ६ सय ३० कित्ता सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको २९ लाख ७३ हजार आठ सय ४३ कित्ताको तुलनामा १० लाख १७ हजार कित्ताले कम हो। मंगलबार एक सय ६१ कम्पनीको सेयर चार हजार पाँच सय ४९ पटक किनबेच भएको छ।

मंगलबार कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेड सबैभन्दा अगाडि छ। यस दिन नेपाल बैंकको पाँच करोड ७८ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सेयर संख्याको आधारमा पनि यही बैंक अगाडि छ। यसको एक लाख ७२ हजार ९६ कित्ता सेयर किनबेच भएको छ।

यस दिन सबैभन्दा बढी नबिल इक्विटी फन्डका लगानीकर्ताले कमाएका छन्। उनीहरुको सम्पत्ति ९.१२ प्रतिशतले बढेको छ। सबै परिसूचक बढ्दा पनि आँखु खोला जलविद्युत् कम्पनीका सेयरधनीले ४.१६ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: १ श्रावण २०७६ ०४:१० बुधबार

नेप्से लगातार_बढेको