अर्थ

सुदूरपश्चिम वित्तीय साक्षरता अभियान सुरु

धनगढी – ‘एक व्यक्ति एक खाता‘ कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति बमोजिम सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरता अभियान सुरु गरिएको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रत्येक नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले अभियानको थालनी गरेको हो। आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले शनिबार वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिका सार्वजनिक गर्दै वित्तीय साक्षरता अभियान प्रारम्भ गरेका हुन्।

अभियानअन्तर्गत प्रदेशका सबै ८८ वटा स्थानीय तहका लक्षित वित्तीय संस्था र स्थानीय तह, समुदायमा यो अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ। ‘अभियान अन्तर्गत प्रत्येक नागरिकलाई हाते पुस्तिका उपलब्ध गराएर सचेतना फैलाउन लागिएको छ, बोहराले भने, ‘यसबाट नागरिकलाई बैंक खाता खोल्न उत्प्रेरित गराई आर्थिक गतिविधि तर्फ डो-याउन टेवा पुग्ने छ।’

वित्तीय साक्षरतासम्बन्धी हाते पुस्तिकामा बैंक तथा वित्तीय संस्था, सहकारी, बिमा, पुँजी बजार, खाता खोल्ने, कारोबार गर्नेबारे विस्तृत जानकारी दिइएको छ। पुस्तिकाको अध्ययनले वित्तीय अनुशासन कायम गर्न तथा आर्थिक कानूनी ज्ञानसमेत प्रदान गर्नमा योगदान पु-याउने विश्वास गरिएको छ।

मन्त्रालयका सचिव गोपालप्रसाद अर्यालले पुस्तिकामा वित्तीय साक्षरता सम्बन्धी विभिन्न ५८ वटा प्रश्नको जवाफ उल्लेख गरिएकोले यसबाट वित्तीय अभ्यासलाई सशक्तीकरण गर्न मद्दत पु-याउने बताए। प्रदेशका ८८ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुग्न सकेको छैन।

सुदूरपश्चिम प्रदेशमा वित्तीय साक्षरताको अवस्था कमजोर रहेको छ। कूल जनसंख्याको ६० प्रतिशतभन्दा बढी जनसंख्या वित्तीय पहुँचभन्दा बाहिर रहेको अनुमान गरिएकोमा बाहिर रहेका नागरिकलाई वित्तीय पहुँचमा पु-याउन जरुरी रहेको मन्त्री बोहराले बताए।रासस

प्रकाशित: ३० असार २०७६ ०३:५४ सोमबार

एक_व्यक्ति_एक_खाता वित्तीय_साक्षरता अभियान