अर्थ

रसुवागढी नाकाबाट स्याउ आयात बढ्यो

रसुवा – रसुवागढी नाकाबाट स्याउ आयात बढ्दै गएको छ। नेपाली बजारमा चिनियाँ स्याउको माग बढ्दै जाँदा स्याउ आयात हुने क्रम बढ्दै गएको हो।

चालु आर्थिक वर्ष ०७५/७६ मा यो नाका हुँदै तीन करोड ९४ लाख ५३ हजार एक सय ४० केजी स्याउ आयात भएको छ। चालु आवको साउनदेखि जेठ मसान्तसम्ममा तीन अर्ब १५ करोड ६२ लाख ५१ हजार दुई सय मूल्य बराबरको स्याउ आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले जनाएको छ।

कार्यालयका अनुसार साउनमा ११ लाख ४२ हजार ६ सय २९, भदौमा १० लाख ५५ हजार तीन सय ८२, असोजमा ४३ लाख २८ हजार चार सय ६५, कात्तिकमा ४० लाख २५ हजार तीन सय ३०, मंसिरमा २७ लाख ८९ हजार आठ सय तीन, पुसमा २९ लाख ९६ हजार तीन सय ५०, माघमा २६ लाख ११ हजार चार सय ३० केजी स्याउ आयात भएको थियो।

त्यस्तै फागुनमा ४६ लाख ५६ हजार एक सय ७०, चैतमा ४७ लाख २२ हजार सात सय ९०, वैशाखमा ५६ लाख १५ हजार ६ सय ३४ र जेठमा ५५ लाख नौ हजार एक सय ५७ केजी स्याउ नेपाल आयात भएको कार्यालयले जनाएको छ।

नेपालबाट कृषिजन्य सामग्री कमै मात्र निर्यात हुने गरेको भए पनि चीनबाट भने स्याउलगायत सामग्री आयात हुने क्रम बढ्दै गएको वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताए। नेपालमा मनाइने विभिन्न चाडपर्वको समयमा स्याउ आयात बढी हुन्छ।

नाकाबाट फलफूलजन्य सामग्रीको आयात पनि बढ्दै गएको छ। चीनबाट स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राइ मसरुम, प्याज, बोडी, धानको बिउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर आयात हुने गरेको छ।

त्यस्तै चीनबाट फलफूल, मसलाबाली, तरकारीबाली, खाद्यान्नबाली, तेलबाली, बिउबाली र अन्य सामग्री पनि नेपाल भित्रने गरेको छ।

प्रकाशित: ३० असार २०७६ ०२:५९ सोमबार

चालु_आर्थिक स्याउ_आयात बढ्दै