अर्थ

मध्य ताराखोलामा प्रभु बैंकको २८ करोड लगानी

मध्य ताराखोलामा लगानी गर्ने सहमतिपछि सम्झौता पत्र एकापसमा हस्तान्तरण गर्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मध्य ताराखोला हाइड्रोपावर प्रालिका अध्यक्ष शिव गिरी। तस्बिर : नागरिक

काठमाडौं – ताराखोला गाउँपालिकामा निर्माण हुन लागेको १.७ मेघावाटको मध्य ताराखोला जलविद्युत् परियोजनामा प्रभु बैंकले २८ करोड ३० रुपैयाँ लगानी गर्ने भएको छ। ३४ करोड रुपैयाँ लाग्ने उक्त परियोजनमा ८० प्रतिशत प्रभु बैंक र २० प्रतिशत प्रवद्र्धक कम्पनी मध्य ताराखोला हाइड्रोपावर प्रालिले लगानी गर्ने भएको हो। प्रवद्र्धकले पाँच करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ।

कम्पनी र प्रभु बैंकबीच काठमाडौंमा शुक्रबार ऋण लगानी सम्झौता सम्पन्न भएको हो। सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष शिव गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले हस्ताक्षर गरेका थिए।

सानो परियोजना भएकाले प्रभुले एक्लै लगानी गरेको सिइओ शेरचनले बताए। ‘सानो परियोजना भएकाले अन्य साझेदार नखोजी हामीले मात्र लगानी गरेका छौं,’ शेरचनले भने, ‘विद्युतले पैसा आम्दानी गर्ने भएकाले निर्धारित सयममा परियोजना सम्पन्न गर्नुपर्छ।’

शेरचनले आयोजना पारदर्शी ढंगबाट सम्पन्न गर्न पनि आग्रह गरे। ‘विभिन्न आयोजनामा प्रवद्र्धकबीचको मनमुटावले समस्या सिर्जना हुने गरेको सुनिन्छ ,’ शेरचनले भने, ‘प्रतिवद्धताअनुसार आयोजना पूरा हुनेमा हामी विश्वस्त छौं।’

भदौदेखि आयोजनाको संरचना निर्माण कार्य सुरु हुने कम्पनीका अध्यक्ष गिरीले बताए। गिरीका अनुसार उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजनाको सिभिल संरचना निर्माणका लागि आचार्य विल्डर्ससँग निर्माण सम्झौता भएको छ। हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलका लागि पनि  आपूर्तिकर्तासँग छलफल भएको गिरीले जानकारी दिए।

उक्त परियोजना १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीका सञ्चालक हरिनारायण गौतमले जानकारी दिए। ‘डेढ वर्षमा नै सम्पन्न गर्ने योजनासहित काम अघि बढेको छ,’ गौतमले भने, ‘निर्धारित समयमा सम्पन्न हुनेमा विश्वस्त छौं।’

परियोजनाका लागि वित्तीय व्यवस्थापनको सुनिश्चितता भएकाले अब कामलाई तीव्रताका साथ अगाडि बढाउने कम्पनीका प्रवन्ध सञ्चालक अनिल खड्काले बताए। आयोजनाको क्याचमेन एरिया वन क्षेत्र भएकाले हिउदमा पानीको ठूलोे समस्या नहुने इन्जिनियर अनुप खनालले जानकारी दिए।

ताराखोला गाउँपालिका वडा नं ५ मा इन्टेक रही वडा नं ४ मा पावरहाउस निर्माण गर्ने स्टिमेट रहेको छ। आयोजना दर्ता हुँदा ताराखोला र छेदक खोलाको पानी प्रयोग गरी १.७ किलोवाट विद्युत्् उत्पादन हुने देखिए पनि एलाइनमेन्ट परिवर्तन गरी विस्तृत सर्वेक्षण गर्दा नामेलीखोलाको पानी पनि प्रयोग गर्न सम्भव भएकाले आयोजनाको क्षमता बढाउन सकिने खनालले बताए।

ताराखोलामा अन्य विद्युत् परियोजना पनि निर्माणाधीन रहेका छन्। तीन सय ८० किलोवाटको लघुजलविद्युत् निर्माण सम्पन्न भएर स्थानीयले बिजुली बालिरहेका छन्। घुस्मेलीमा २.५ मेगावाटको जलविद्युत् आयोजना निर्धाणाधीन छ। सोही खोलामा तीन मेगावाटको मध्यदरम खोला ‘ए’ साना जलविद्युत् आयोजना र मध्य दरमखोला ‘बी’ साना जलविद्युत् आयोजना विद्युत् खरिद बिक्री सम्झौता पूरा भएर निर्माणको चरणमा रहेका छन्।

प्रकाशित: २९ असार २०७६ ०३:५४ आइतबार

ताराखोला जलविद्युत् लगानी