सिन्धुपाल्चोक– तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ।
आयोजना निर्माण गरिरहेको हिमरिभरपावर प्रालि र एनएमबी बैंकबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार आयोजना निर्माण कुल लागतको ७५ प्रतिशत रकम बैंकले ऋण दिने छ। बैंकले दुई अर्ब २६ करोड ४६ लाख रुपैयाँ ऋण उपलब्ध गराउने सहमति भएको हिमरिभरका निवर्तमान अध्यक्ष तथा संस्थापक प्रवर्द्धक रामकाजी पौडेलले बताए।
उनका अनुसार तीन अर्ब १२ करोड आठ लाख रुपैयाँ लागतमा बन्ने आयोजनाको बाँकी २५ प्रतिशत लगानी संस्थापक प्रवर्द्धकबाट जुटाइने छ। हिरिभरमा २१ जना संस्थापक प्रवर्द्धक छन्। राजधानीमा एक कार्यक्रमबीच बिहीबार हिमरिभरपावर र बैंकबीच ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। ‘ऋण लगानीसँगै आयोजनाको कामलाई गति दिने बाटो खुल्यो’, प्रवर्द्धक पौडेलले नागरिकसँग भने।
बर्खा सकिएलगत्तै मुख्य संरचना निर्माणमा जाने आयोजना आगामी तीन वर्षभित्र सक्ने लक्ष्य हिमरिभरले राखेको छ। तातोपानीको लिपिङ बजारबाट तीन सय मिटरमाथि आयोजना बन्न लागेको हो। आयोजनाको उत्पादन गृहसम्म पुग्ने पहुँचमार्ग बिस्तारको काम सकिइसकेको छ। उत्पादन गृहबाट बाँधस्थलसम्म पुग्न रोपवे निर्माणको काम अन्तिम चरणमा पु¥याइएको पौडेलले बताए।
उनका अनुसार आयोजना निर्माणको क्रममा खपत हुने उर्जा जुटाउन आयोजनास्थलमै ६ सय किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माण भइरहेको छ। आयोजना निर्माण सम्पन्न भएपछि लघु आयोजनाबाट उत्पादित उर्जा छुट्टै विद्युत खरिद सम्झौता (पिपिए) गरी विद्युत प्राधिकरणलाई बेचिने छ। उत्पादन गृहदेखि बाँधस्थलसम्मको दुरी दुई हजार ६ सय मिटर रहेको हिमरिभर पावरले जनाएको छ। उसका अनुसार बाँधदेखि एक हजार चार सय मिटर सुरुङ र एक हजार दुई सय मिटर पेनस्टक पाइपमार्फत लिपिङ खोलाको पानी उत्पादन गृहमा खसालिने आयोजनाको हेड सात सय ९२ हुनेछ।
उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न आयोजना आफैँले लिपिङदेखि चाकुसम्म १४ किलोमिटर लामो ट्रान्समिसनलाई बनाउने प्रवर्द्धक पौडेल बताउँछन्। त्यहाँदेखि लामो साँघुसम्म शिवश्री हाइड्रोपावर प्रालिको २२ किमी लामो ट्रान्समिसनलाइन हिमरिवरले प्रयोग गर्ने समझदारी बनेको छ। लामो साँघुमा प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्र र राजधानीसम्म पुग्ने राष्ट्रिय प्रसारणलाइन छ।
हिमरिभरपावर र प्राधिकरणबीच तीन वर्षअघि नै विद्युत खरिद सम्झौता (पिपिए) भएको थियो। सम्झौताअनुसार प्राधिकरणले प्रतियुनिट विद्युत हिउँदमा आठ रुपैयाँ ४० र बर्खामा चार रुपैयाँ ८० पैसामा किन्ने छ। प्राधिकरणबाट दुई वर्षअघि उत्पादन अनुमति पाएपछि हिमरिभरले आयोजनाको प्रारम्भिक काम अघि बढाएको थियो।
प्रकाशित: २८ असार २०७६ ११:३७ शनिबार