अर्थ

अहिलेसम्म ४५ प्रतिशत, ६० पुग्ने अनुमान

हेटौंडास्थित प्रदेश ३ को प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय भवन। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर – चालु आर्थिक वर्षको असार २४ सम्ममा प्रदेश ३ ले ४५ प्रतिशत मात्र बजेट खर्च गरेको छ। यो आव सकिन ६ दिन बाँकी हुँदा प्रदेशले १५ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ बजेट खर्च गरेको छ। यो कुल बजेटको ४४.८९ प्रतिशत हो।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी धनप्रसाद शर्माले असार मसान्तसम्म प्रदेशको खर्च करिब ६० प्रतिशत पुग्ने अनुमान गरे। ‘चालु आवमा असारको झण्डै एक साता बाँकी छ,’ उनले भने, ‘सालतमामी समय भएकाले धमाधम रकम भुक्तानी भइरहेकाले खर्च प्रतिशत ह्वात्तै बढ्ने अनुमान गरेका छौं।’

उनका अनुसार खर्चमध्ये चालुतर्फ १० अर्ब १९ करोड ४० लाख र पुँजीगततर्फ पाँच अर्ब ७९ करोड आठ लाख रुपैयाँ खर्च भएको छ। कुल बजेटको चालुतर्फ ७३.६८ प्रतिशत र पुँजीगततर्फ २५.७५ प्रतिशत खर्च भएको हो।

प्रदेश सरकारको चालु आवको कुल बजेट ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ थियो। तर, केन्द्र सरकारले ससर्त अनुदान बजेट फिर्ता लगेपछि ३५ अर्ब ६० करोड ६८ लाख ५६ हजारलाई आधार मानेर प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले हिसाब निकालेको हो। बजेटमा पुँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख नौ हजार र चालुतर्फ  १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार बजेट छुट्ट्याइएको थियो।

आधुनिक सफ्टवेयरको प्रयोग नभएकाले मन्त्रालयहरुको हिसाब निकाल्न कठिनाइ भएको भन्दै सूचना अधिकारी शर्माले साउनको पहिलो साताभित्र मन्त्रालयसहितको कूल खर्च निकालिने बताए। ‘संघ (केन्द्र)ले बजेट फिर्ता लगेकाले प्रदेशको बजेट घटेको छ, त्यसले पनि खर्चको हिसाब निकाल्न थप कठिनाइ भएको छ,’ उनले भने।

प्रदेशलाई १० अर्ब ६१ करोड ससर्त अनुदान संघीय सरकारले उपलब्ध गराए पनि फिर्ता लगेपछि बजेटमा समेत कमी आएको छ। संघीय सरकारले बजेट फिर्ता लगेको यकिन तथ्यांक नआएका कारण बजेटबारे तथ्यांक निकाल्न कठिनाइ भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको योजना तथा बजेट महाशाखाका उपसचिव घनश्याम पन्थीले बताए।

‘ग्रामीण सञ्जाल कार्यान्वयन आयोजना (आरसिआइपी)को एक अर्ब ९६ करोड रुपैयाँ फिर्ता गएको छ,’ उनले भने, ‘पर्यटनतर्फको तीन करोड ६८ लाखका साथै नयाँ सहर, साना सिँचाइ लगायतको बजेट केन्द्रले फिर्ता लगेको छ।’

प्रदेशको चालु आवको वैशाखसम्ममा आठ अर्ब चार करोड ४१ लाख ५५ हजार रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ। कार्यालयका अनुसार प्रदेशका १३ जिल्लामा चालुतर्फ पाँच अर्ब ६४ करोड ७३ लाख ९३ हजार र पुँजीगतर्फ दुई अर्ब ३९ करोड ६७ लाख ६१ हजार रुपैयाँ खर्च भएको थियो।

मुख्यमन्त्रीको गृह जिल्लामा बढी, रसुवामा कम खर्च
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको गृहजिल्ला मकवानपुरमा सबैभन्दा बढी र रसुवामा सबैभन्दा कम बजेट खर्च गरिएको छ। प्रदेशको अस्थायी राजधानीसमेत रहेको मकवानपुरमा विभिन्न मन्त्रालयमार्फत् कूल खर्चको करिब ६० प्रतिशत र रसुवामा एक प्रतिशतभन्दा कम बजेट खर्च भएको हो।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार बुधबारसम्म भएको खर्चमध्ये मकवानपुरमा ५८.५७ प्रतिशत अर्थात् नौ अर्ब ३६ करोड ३९ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ भने प्रदेशको १३ जिल्लामध्ये रसुवामा ०.९० प्रतिशत अर्थात् १४ करोड ४४ लाख २२ हजार रुपैयाँ खर्च गरेको छ। त्यस्तै, संघीय राजधानी रहेको काठमाडौंमा ३२ करोड ७३ लाख ६५ हजार ६५ हजार रुपैयाँ खर्च गरेको छ।

चितवनमा एक अर्ब ६ करोड ५७ लाख ९७ हजार, नुवाकोटमा ७३ करोड १३ लाख ३४ हजार र सिन्धुपाल्चोकमा ७२ करोड सात लाख ५१ हजार रुपैयाँ खर्च भएको छ। त्यस्तै, ललितपुरमा सात करोड ७६ लाख २० हजार, काभ्रेपलाञ्चोकमा ६५ करोड ४३ लाख ९१ हजार, रामेछापमा ५५ करोड ३८ लाख ८४ हजार रुपैयाँ प्रदेश सरकारमार्फत् खर्च भएको छ।

प्रदेश सरकारका एक सय ६१ निकायले प्रदेशका १३ जिल्लामध्ये भक्तपुरमा छुट्याइएको बजेटमा सबैभन्दा बढी ६०.५७ प्रतिशत अर्थात् ४६ करोड ६९ लाख ३९ हजार रुपैयाँ खर्च भएको छ। साथै, धादिङमा ४८ करोड ७५ लाख ६३ हजार, सिन्धुलीमा ४५ करोड ८२ लाख १५ हजार र दोलखामा ३० करोड २६ लाख ८० हजार रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रकाशित: २६ असार २०७६ ०३:०० बिहीबार

प्रदेश_३ बजेट_खर्च बढ्ने_अनुमान