अर्थ

श्री सम्पन्नको सेवा केन्द्र माछापोखरीमा

काठमाडौं – श्री सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको माछापोखरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। २०६४ सालमा स्थापित सहकारीले सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र खोलेको जनाएको छ।

सेवा केन्द्रको उद्घाटन काठमाडौं क्षेत्र नं. ७ का संघीय सांसद रामविर मानन्धरले सोमबार गरेका हुन्। उनले सहकारी संस्थालाई नाफामूलकभन्दा पनि सहकारीको मर्म अनुसार चल्न आग्रह गरे। मुलुकको निर्यात घटिरहेको र आयात चरम उत्कर्षमा पगेको बेला सहकारीले उत्पादमा ठूलो टेवा पु-याउन सक्ने बताए।

सहकारीको अध्यक्ष बलराम खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वाड नं. १६ का अध्यक्ष मुकुन्द रिजालले स्थानीय तहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे।

समारोहमा सहकारीका सचिव तथा प्रन्धक निर्माल गुरुवाचार्यले सहकारीको वित्तीय विवरणबारे प्रकाश पारेका थिए। गत जेठ मसान्तसम्म सहकारीको सेयर पुँजी १ करोड २५ लाख, निक्षेप १६ करोड ९ लाख रहेको बताइएको छ।

कर्जा लगानी १२ करोड ९८ लाख तरलता २ करोड २५ लाख रहेको र कुल वासलात २० करोड २१ लाख रहेको बताइएको छ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष प्रदिप पाठक, तारकेश्वर यातायात प्रालिका अध्यक्ष मिनबहादुर मानन्धर, बुद्धभूमि जलविद्युत् कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठलगायतले बोलेका थिए।

काठमाडौंको महाराजगन्जमा केन्द्रीय कार्यालय रहेको श्री सम्पन्न सहकारीको नुवाकोटको बट्टार र ढिकुरेमा पनि शाखा छ। सहकारीले आइएमई, प्रभु, वेस्टर्न युनियन, हिमाल रेमिट लगायतबाट आएको विप्रेषण भुक्तानी सेवा पनि उपलव्ध गराउँदै आएको सहकारीका सेवा केन्द्र प्रमुख रमेशमान प्रधानले बताए।

प्रकाशित: २५ असार २०७६ ०३:२५ बुधबार

सहकारी_संस्था सेवा_केन्द्र