अर्थ

साउनको दोस्रो सातादेखि व्यावसायिक उत्पादन

रसुवा – रसुवा र नुवाकोटमा निर्माण भइरहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले  तोकिएको समय सीमाभित्र विद्युत् उत्पादन गर्न नसक्ने भएको छ।

चालु आर्थिक वर्ष ०७५/७६ को असार मसान्तसम्ममा दुवै युनिटबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखिएको थियो। प्राविधिक कारणले तोकिएको समय सीमाभित्र विद्युत् उत्पादन हुने सम्भावना नदेखिएको आयोजनाले जनाएको छ।

साउनको दोस्रो सातादेखि दोस्रो युनिटबाट विद्युत् उत्पादन गर्ने तयारी भएको आयोजना प्रमुख आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए। ‘पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गरिसकेका छौं,’ उनले भने, ‘आउँदो साउन १५ गतेभित्र दुवै युनिटबाट व्यावसायिक उत्पादन सुरु गर्छौं।’

गत शुक्रबारदेखि पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ। यो आयोजनाको ट्रायल उत्पादन हो। दोस्रो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन सुरु भएपछि मात्रै व्यावसायिक उत्पादन हुन्छ।

उत्पादन भएको विद्युत् खेर जान नदिन उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। टेकिङ ओभर सर्टिफिकेट दिएपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने आयोजना प्रमुख जोशीले बताए।

पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहने छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो।

यही वैशाख १७ गतेबाट पहिलो युनिटबाट उत्पादन सुरु गर्ने कार्ययोजना थियो। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजना ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) ले निर्माण गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रो मेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) सँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ वैशाखबाट निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित बनेको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्न १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ।

प्रकाशित: २३ असार २०७६ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App