अर्थ

डेबिट कार्डको आवरण डिजाइन प्रतिस्पर्धा गराउँदै लक्ष्मी बैंक

काठमाडौं – लक्ष्मी बैंकले डेबिट कार्डको आवरण डिजाइन प्रतिस्पर्धा गराउने योजना ल्याएको छ। उक्त प्रतिस्पर्धामा सहभागी हुन बैंकले देशभरका ग्राहक र सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिस्पर्धामा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो प्रदेशको कला, संस्कृति र भूगोल झल्किने चित्र वा पेन्टिङ तयार गरी बैंकमा पठाउनुपर्नेछ। त्यसरी प्राप्त भएका चित्र वा पेन्टिङमध्येबाट छानिएका चित्र वा पेन्टिङलाई भविष्यमा जारी गरिने डेबिट कार्डमा प्रयोग गर्ने बैंकले जनाएको छ।

छानिएका सातवटा पेन्टिङ वा चित्रलाई करबाहेक ५०/५० हजार रुपैयाँका दरले पुरस्कार दिने बैंकको योजना छ। बैंकले भविष्यमा हरेक प्रदेशको पहिचान झल्किने चित्र वा पेन्टिङ समावेश गरेर सातथरी डिजाइनका डेबिड कार्ड जारी गर्नेछ।

प्रतिस्पर्धामा भाग लिने प्रतिभावान जोसुकैले आफ्नो क्षेत्रको कला, संस्कृति वा भौगोलिक स्थितिलाई चित्र वा पेन्टिङमा उतारेर पठाउनुपर्ने बैंकको स्ट्राटेजी तथा मार्केटिङ प्रमुख भारती पाण्डेले बताइन्।

‘कला, धर्म, संस्कृति वा भौगोलिक स्थितिलाई तस्बिरमा उतारेर पुरस्कार जित्न सकिन्छ,’ उनले भनिन्, ‘आफूभित्र रहको कला कार्डमार्फत संरक्षण र प्रचार हुने भएकाले यो योजनालाई गौरवको रुपमा हेर्न सकिन्छ।’

यसले लक्षित ग्राहकसँगको सम्बन्धलाई थप उचाइमा पु-याउन सहयोग पुग्ने जनाउँदै उनले ‘मेरो प्रदेश मेरो कार्ड’को खाका तयार पारिएको जानकारी दिइन्।

प्रस्तावित कार्डको नमूना सार्वजनिक गर्दै बैंकले खाली रहेको ठाउँमा आफ्नो प्रदेशको कला, संस्कृति वा भूगोल झल्किने आकृति उतारेर मोबाइलबाटै फोटो खिचेर अनलाइनमार्फत योजनामा सहभागी हुन सकिने जनाएको छ।

प्रतिस्पर्धामा भाग लिने जो कोहीले पनि सातवटै कार्डको पुरस्कार जित्न सक्ने बैंकले जनाएको छ। आफ्नो प्रदेशमा भएका कला, संस्कृति, सम्पदा, भौगोलिक अवस्था, जातजाति, भेषभूषा र मनोरञ्जन लगायतलाई पेन्टिङ तथा चित्र बनाएर बैंकको वेबसाइटमा पठाउन पनि बैंकको आग्रह रहेको छ।

मध्य असारबाट मध्य साउनसम्म खुला रहने योजनाको लाभ लिन आफूले तयार पारेकोे तस्बिरबारे संक्षिप्त बर्णन समेत गरेर पठाउन बैंकले अनुरोध गरेको छ।

बैंकले हाल ४८ जिल्लामा रहेका एक सय १० शाखा, ५८  शाखारहित बैंकिङ सेवा, एक सय ३२ एटिएम, दुई एक्सटेन्सन काउन्टर तथा २५ सय रेमिटेन्स एजेन्सीबाट सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले देशभर रहेका एटिएमबाट सजिलै पैसा निकाल्ने सुविधा पनि दिइरहेको छ।

प्रकाशित: २० असार २०७६ ०३:४८ शुक्रबार

डेबिट_कार्ड आवरण_डिजाइन कला संस्कृति