अर्थ

उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति र सम्मान

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)मा विभिन्न पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान दिएको छ।

छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत, एनसेलले २०७६ सालदेखि २०८० सालसम्म  इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई एक करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ। यसअघि एनसेलले उत्कृष्ट विद्यार्थीलाई २०७१ देखि २०७५ सम्म ८० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान दिएको थियो। प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको कम्पनीको भनाइ छ।

जिम्मेवार व्यावसायिक नागरिकका रुपमा, प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पु-याउँदै दक्ष जनशक्ति विकासमा योगदान गर्न पुल्चोक क्याम्पसमा २०७१ मा यो छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरिएको थियो। २०७१ देखि २०७५ सम्मको पाँच वर्षमा ६० विद्यार्थीले छात्रवृत्ति र २० विद्यार्थीले सम्मान पाएका छन्।

यो वर्ष छात्रवृत्ति एनसेलका प्रमुख प्रविधि अधिकृत मुहम्मद अदिल इस्रार, वित्तीय प्रमुख कनिश्क गयान विक्रमा, चिफ स्ट्राटिजी अफिसर इरविन एम युसुफ र सुरक्षा तथा प्रशासन प्रमुख महेन्द्रकुमार भट्टचनले प्रदान गरेका थिए। त्यसैगरी, एनसेल उत्कृटता सम्मान इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राध्यापक रामचन्द्र सापकोटा र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रुपमा प्रदान गरेका थिए।

यस वर्ष १८ वटा शीर्षक अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन, कम्प्युटर, सिभिल र मेकानिकल संकायका १८ विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका छन्। साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ।

‘एनसेल छात्रवृत्ति उत्कृष्ट तथा मेहनती विद्यार्थीका लागि ठूलो प्रोत्साहन भएको छौं,’ पुल्चोक क्याम्पसका प्रमुख लक्ष्मण पौडेलले भने।

कार्यक्रममा मन्तव्य राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले छात्रवृत्ति र सम्मान कार्यक्रममार्फत पुल्चोक क्याम्पससँग दोस्रो चरणको सहकार्य गर्न पाएकोमा निकै खुसी लागेको बताए। आगामी वर्षमा पनि शिक्षा क्षेत्रमा थप सहयोग पु-याउने प्रतिबद्घता उनले जनाए।

एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउँछन् भने पाँचवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका दोस्रो, तेस्रो र चौथो वर्षमा अध्ययनरत १–१ जना गरी तीन छात्राले यो छात्रवृत्ति पाउँछन्।

उत्कृष्टता सम्मान अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १–१ जना र यी पाँचै संकायका छात्रामध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान पाउँछिन्। हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ छ।

प्रकाशित: १८ असार २०७६ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App