अर्थ

सेयर किनबेच अनलाइनबाट

काठमाडौं – सेयर बजारमा नयाँ प्रविधि आइरहेका बेला दोस्रो बजारमा सेयर किनबेच अनलाइन प्रणालीबाट हुने भएको छ। नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले केही दिनपछि लगानीकर्ताले बिक्री गरेको सेयरको पैसा खातामा आउने जानकारी दिए।

क्लियरिङ हाउसले पहिलो चरणमा सेयर खरिद गर्दा अनलाइन प्रणालीबाटै भुक्तानी हुने व्यवस्था गरेको थियो। अहिले लगानीकर्ताले एकै दिनमा एउटा बैंकबाट अनलाइनमार्फत बढीमा १० लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्ने व्यवस्था छ।

सोमबार भएको पत्रकार सम्मेलनमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन प्रणालीमा कुनै समस्या नरहेको बताए। अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि सुरुवाती दिनमा केही समस्या देखिएको थियो। सुरुमा केही समस्या देखिँदा कारोबार प्रभावित भएको थियो।

नेप्सेका अनुसार दोस्रो बजारमा कारोबार गर्न सक्ने गरी करिब दुई लाख ९४ हजार लगानीकर्ताले विवरण अद्यावधिक गराएका छन्। व्यक्तिगत विवरण अद्यावधिक गराएका मध्ये ११ हजार दुई सय ४६ जनाले दोस्रो बजारमा कारोबार गरेका छन्।

प्रकाशित: १७ असार २०७६ ०४:१२ मंगलबार

सेयर_बजार नयाँ_प्रविधि अनलाइन_प्रणाली