अर्थ

चौरीपालक कृषक पुरस्कृत

चौरीपालक कृषकलाई पुरस्कार वितरण गर्दै मेयर शेर्पा। तस्बिर : नागरिक

सोलुखुम्बु – सोलुदूधकुण्ड नगरपालिकाले चौरीपालक किसानलाई पुरस्कृत गरेको छ। नगर क्षेत्रमा चौरीपालन गर्दै आएका कृषकको मूल्यांकनका आधारमा पुरस्कृत गरिएको हो।

बिहीबार सल्लेरीमा आयोजित एक कार्यक्रममा २७ चौरीपालक कृषकलाई पुरस्कृत गरिएको छ। वडा नं १ टाक्सिन्दु, वडा नं २ बेनी, वडा नं ९ गोराखानी र वडा नं १० टाप्टिङ क्षेत्रका ६४ चौरीपालक कृषकको खर्कमा गरिएको सर्वेक्षणबाट उत्कृष्ट २७ कृषकलाई पुस्कृत गरिएको सूचना अधिकारी दापासा शेर्पाले बताए। सर्वेक्षणबाट एक हजार सात सय ६८ नाक, याक, चौरी, जोक्पेपालनमा रहेको तथ्यांक संकलन गरिएको छ।

वडा नं २ बेनीका काल्देन शेर्पाले प्रथम पुरस्कार पाएका छन्। उनलाई सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले नगद २९ हजार र प्रमाणपत्र वितरण गरेका छन्। पेमा याङ्जी शेर्पा द्वितीय भएका छन्। उनलाई नगद २३ हजार र प्रमाणपत्र प्राप्त गरेका छन्। जिकु शेर्पाले तृतीय पुरस्कार १८ हजारका साथै प्रमाणपत्र प्राप्त गरेका छन्। बाँकी २४ कृषकलाई १५/१५ हजारका दरले सान्त्वना पुरस्कार र प्रमाणपत्र वितरण गरिएको पशुसेवा प्राविधिक भिमलाल तामाङले जानकारी दिए।

वडा नं ९ गोराखानीका कृषक तेन्जी शेर्पा चौरीपालनतर्फ स्थानीय सरकारले चासो देखाउनु सुखद भएको बताउँछन्। अनुगमन, प्रोत्साहन र प्रतिस्पर्धाले व्यवसायमा थप हौसला मिलेको उनको भनाइ छ। वडा नं १ टाक्सिन्दुकी पेनी शेर्पाले चौरीपालनबाटै जीविका चलाइरहेकालाई सरकारले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्नु हौसलाको विषय भएको बताइन्।

प्रकाशित: १७ असार २०७६ ०३:०७ मंगलबार

चौरीपालक किसान पुरस्कृत