अर्थ

समयमा बिजुली दिन नसक्दा माउन्टेन हाइड्रो जरिवानामा

काठमाडौं – माउन्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) मा तोकिएको समयमा नेपाल विद्युत् प्राधिकरणलाई बिजुली उपलब्ध गराउन नसकेपछि जरिवाना तिर्नुपर्ने भएको छ।

कम्पनीले यही असार ६ गतेभित्र बिजुली दिने सर्त पिपिएमा थियो। २१.६ मेगावाट क्षमताको सो आयोजनालाई काबेली करिडोर प्रसारण लाइन आयोजनाले गत वैशाख २५ गते नै प्रसारण लाइन सञ्चालनमा आएको जानकारी दिएको थियो।

प्रसारण लाइन सञ्चालनमा आएको दुई महिना पुग्न लाग्दा समेत तल्लो हेवा खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिन अझै केही दिन लाग्ने देखिएको छ। तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसकेपछि पिपिए सम्झौतामा उल्लेख भएअनुसार पाँच प्रतिशत जरिवाना लाग्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए।

तोकिएको समयमा प्राधिकरणलाई विद्युत् उपलब्ध नगराए सम्बन्धित प्रवद्र्धकले जरिवाना तिर्नुपर्छ। प्राधिकरणले पनि सर्तअनुसार प्रसारण लाइनलगायत अन्य भौतिक संरचना नबनेका कारण विद्युत् खेर गए उत्पादकलाई जरिवाना तिर्नुपर्छ। प्राधिकरणका प्रवक्ता अधिकारीका अनुसार प्रसारण लाइन निर्माण सम्पन्न भइसक्दा समेत तोकिएको समयमा विद्युत् दिन नसकेका कारण प्रवद्र्धकले नियमानुसार जरिवाना तिर्नैपर्छ। व्यावसायिक उत्पादन सुरु भएपछि एकमुष्ठ रुपमा नै के कति तिराउने भन्नेमा निर्णय हुने उनको भनाइ छ।

आयोजनाले सोमबार आयोजनाको सुक्खा परीक्षण ‘ड्राइ टेस्ट’ गर्ने जानकारी प्राधिकरणलाई गराएको छ। उक्त परीक्षण गरेपछि आयोजनामा जडित मेसिनमा पानी पठाएर विद्युत् उत्पादन नगरी परीक्षण गरिन्छ। त्यस्तो परीक्षण सम्पन्न भएपछि १५ दिन परीक्षण उत्पादन र प्रसारण गर्नुपर्ने व्यवस्था छ। यस आधारमा हेर्दा सो आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुन साउन नै लाग्ने देखिन्छ।

तल्लो हेवा खोला आयोजनाका प्रमुख गणेश सुब्बाले सुरुङमा पानी चुहिएका कारण यसअघिको परीक्षण असफल भएपछि मर्मत गरेर पुनः सोमबार परीक्षणका लागि प्राधिकरणको प्राविधिक टोली बोलाइएको जानकारी दिए। जरिवाना लाग्ने, नलाग्ने विषयमा आफू जानकार नभए पनि अनौपचारिक रुपमा त्यस्तै कुरा सुनेको उनको भनाइ छ। ‘हामीले आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण गरिरहेका छौं, सोमबारदेखि मेसिनको अवस्था तथा अन्य संरचनाको परीक्षण हुन्छ। सो परीक्षण सकिएपछि  ‘वेट टेस्ट’ गरिन्छ,’ आयोजना प्रमुख सुब्बाले भने।

माउन्टेन हाइड्रोका प्रमुख सीताराम तिमिल्सिनाले २०७४ फागुनमै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको स्थलगत निरीक्षणमा गएको टोलीलाई विद्युत् खेर जान लागेको गुनासो गरेका थिए। प्राधिकरणले प्रसारण लाइन नबनाएका कारण बिजुली खेर जान लागेको भन्दै उनले स्थलगत निरीक्षणमा पुगेका सञ्चारकर्मीलाई समेत प्राधिकरणलाई दबाब दिन आग्रह गरेका थिए।

त्यस बेला कार्यकारी निर्देशक घिसिङले तिमिल्सिनालाई तपाईंको आयोजना सम्पन्न हुन अझै डेढ वर्ष जति लाग्छ ढुक्क हुनुस् भनेका थिए।

ऊबेला वाचा गरेको समयमा आयोजना सम्पन्न नभएको विषयमा तिमिल्सिना बोल्न चाहेनन्। तर, उनका सहयोगी विश्व पाण्डेले केही प्राविधिक समस्याका कारण आयोजना पर धकेलिएको बताए। जरिवाना तिर्नुपर्ने व्यवस्था भए आफूहरु तयार रहेको उनको भनाइ छ।

सामान्यतया नयाँ आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन तीन महिना लाग्छ। परीक्षणमा नै सामान्य समस्या देखिए व्यावसायिक उत्पादन प्रभावित हुन्छ। काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाका प्रमुख दिपेन्द्रराज द्विवेदीले आफूहरुले गत वैशाख २५ गते नै प्रसारण लाइन सञ्चालनमा आएको आयोजनालाई पत्र पठाएर जानकारी गराएको बताए। प्राधिकरणले आफ्नो जिम्मेवारी समयमा पूरा गरे पनि आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा नजोडिएको बताए।

सो आयोजनाको तेस्रो खण्डको काम पनि यसै महिनाभित्र सम्पन्न हुनेछ। त्यस खण्डको  १३.३३ किलोमिटर लाइन सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी छ। तेस्रो खण्डको दुई किलोमिटर मात्रै तार तान्न बाँकी रहेको आयोजना प्रमुख द्विवेदीले बताए।

कुल ९१ किलोमिटर लामो उक्त प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरेर निर्माण सुरु गरिएको थियो। उक्त प्रसारण लाइनमा दुई सय ६१ टावर छन्। झापाको लखनपुरबाट सुरु भएको प्रसारण लाइन इलाम, फिदिम, तेह्रथुम हुँदै पाँचथरको अमरपुर जोडिन्छ।रासस

प्रकाशित: १६ असार २०७६ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App