अर्थ

पानीको धौ–धौ

खोटाङ – वर्षा नहुँदा खोटाङमा सिँचाइ पोखरीमा संकलन गरिएको पानी प्रयोग गरेर १६औं धान दिवस मनाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कोलेबारीमा स्थानीय सगरमाथा कृृषक समूहले निर्माण गरेको सिँचाइ पोखरीको पानी प्रयोग गरेर धान दिवस मनाइएको हो।

‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमाा न्यूनीकरण’ भन्ने नारासहित स्थानीय कोलेबारी कृषि सहकारीसँगको सहकार्यमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि तथा पशु विकास शाखाले धान दिवसको आयोजना गरेको थियो। बेलामा वर्षा नहुँदा दुइटा पोखरीको पानी तानेर एक ग-हा खेतको आधा भागमा मात्र हिल्याएर रोपाइँ गरिएको हो।

रोपाइँ गर्ने पानी नहुँदा सिँचाइ पोखरीको पानी तानेर धान दिवस मनाउने व्यवस्था मिलाइएको कोलेबारी कृषि सहकारीका अध्यक्ष गोपालचन्द्र आचार्यले बताए। दिवसमा हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्दै सामुहिकरुपमा रोपाइँ गरिएको छ। दिवसका अवसरमा दही, चिउरा, लिची, काँक्रा, उसिनेको मकैलगायत परिकार खुवाइएको छ।

कार्यक्रममा नगरपालिकाले कोलेबारी कृषि सहकारीलाई हाते ट्याक्टर, कम्बाइन्ड मिल, मकै छोडाउने मेसिन, मकै रोप्ने र जोख्ने मेसिन प्रदान गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सहकारीका अध्यक्ष आचार्यलाई कृषि उपकरण हस्तान्तरण गरेका हुन्। कृषिको यान्त्रिकीकरण गर्दै अर्गानिक नगर बनाउन किसानलाई उपकरण प्रदान गरिएको मेयर रिजालले बताए।

१० प्रतिशत रोपाइँ
अहिले असारको मध्य समय हो। ‘मुट्ठी खाएर मुरी उब्जाउने’ यो बेला किसानलाई रोपाइँ गर्न भ्याइनभ्याइ हुनुपर्ने हो। तर, बेलामा वर्षा नहुँदा खोटाङका अधिकांश ठाउँका किसान आकाश हेरेर बस्न बाध्य छन्। सिमसार भएका र बाह्रैमास पानीको मुहान भएका खेतबाहेक अन्य खेतमा रोपाइँ हुन सकेको छैन। हालसम्म करिब १० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताए।

‘यो बेलामा धेरैजसो ठाउँमा रोपाइँ भइसक्नुपर्ने हो,’ प्रमुख राईले भने, ‘तर पानी नपर्दा कतिपय खेतमा आँठा भित्तै गरिएको छैन। सिञ्चित क्षेत्रमा मात्र रोपाइँ भएको अवस्था छ।’ ज्ञान केन्द्रका अनुसार हाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा, खोटेहाङ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेंसी गाउँपालिकालगायत स्थानीय तहका सिञ्चित क्षेत्रमा मात्र रोपाइँ भइरहेको छ।

सिञ्चित ११ हजार चार सय हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने तीन हजार आठ सय दुई हेक्टर असिञ्चित गरी जिल्लाको कुल १५ हजार दुई सय दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ।

प्रकाशित: १६ असार २०७६ ०३:०६ सोमबार

धान_दिवस प्रविधि यान्त्रिकीकरण