अर्थ

प्रभु बैंकले पाँच देशमा कार्यालय खोल्ने

काठमाडौं – प्रभु बैंकले पाँच देशमा प्रतिनिधि कार्यालय खोल्ने भएको छ। विदेशमा प्रतिनिधि कार्यालय खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए। ‘पाँच देशमा कार्यालय खोल्न सैद्धान्तिक सहमति पाएका छौं,’ शेरचनले भने, ‘अब विदेशमा कार्यालय खोल्छौं।’

बैंकले अस्ट्रेलियाको सिड्नी, भारतको नयाँदिल्ली, मलेसियाको क्वालालाम्पुर, कतारको दोहार र बेलायतको एल्डरसट शहरमा प्रतिनिधि खोल्न अनुमति पाएको हो। यसले विदेशमा रहेका नेपालीलाई सुविधा दिन, विदेशी बैंकसँग सम्बन्ध बढाउन सजिलो हुन्छ।

बैंकले भविस्यमा विदेशी बैंकसँग साझेदारिता गर्न र विदेशमा शाखा खोल्न पनि सहयोग पुग्छ। ‘नेपालको वित्तीय क्षेत्रबारे विदेशमा जानकारी गराउन सकिन्छ,’ प्रमुख कार्यकारी अधिकृत शेरचनले भने, ‘भविश्यमा सम्बन्धित देशको केन्द्रीय बैंकसँग अनुमति लिएर शाखा विस्तार गर्न सहज हुन्छ।’

बैंकले ६ महिनाभित्र सम्बन्धित देशका नियामक निकायबाट अनुमति लिएपछि पुनः राष्ट्र बैंकबाट अनुमति मागेपछि कार्यालय खोल्न सक्नेछ। अहिले एक सय ८६ शाखा, एक सय ५० एटिएम, २३ वटा एक्सटेन्सन काउन्टर  रहेको बैंकले जनाएको छ। बैंकिङ सेवाको माध्यमबाट १२ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गरेको जनाएको छ।

प्रभु बैंकमा प्रभु विकास बैंक, ग्राण्ड बैंक, किष्ट बैंक, गौरीशंकर विकास बैंक, जेनिथ फाइनान्सलगायत बैंक तथा वित्तीय संस्था मर्ज भइसकेका छन्। बैंकको चुक्ता पुँजी आठ अर्ब ८९ करोड २६ लाख रुपैयाँ पुगेको छ। बैंकले मुलुकका करिब दुई दर्जनभन्दा बढी स्थानमा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ।

प्रकाशित: १५ असार २०७६ ०४:१५ आइतबार

प्रभु_बैंक पाँच_देशमा प्रतिनिधि कार्यालय