अर्थ

अर्थमन्त्री–विश्व बैंक उपाध्यक्ष भेट

अर्थमन्त्री युवराज खतिवडा मन्त्रालयमा बिहीबार विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोसँग छलफल गर्दै। तस्बिर : नागरिक

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडासँग विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले शिष्टाचार भेटवार्ता गरेका छन्।

अर्थ मन्त्रालयमा बिहीबार भएको भेटमा अर्थमन्त्री खतिवडाले बैंकका उपाध्यक्ष एवं महालेखा परीक्षकलाई स्वागत गर्दै नेपालको विकास प्रयासमा बैंकको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरे।

सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको चर्चा गर्दै यसका लागि विश्व बैंकको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरे।

अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढेकामा प्रशंसा

भेटमा विश्व बैंकका तर्फबाट डिएन्जेलोले अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमलाई तीव्रताका साथ अगाडि बढेकामा प्रशंसा गरिएको थियोे।

मुलुकको दीर्घकालीन सोचबारे उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पु-याउन सक्ने थप सहयोगको अपेक्षासहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचबारे जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिए।

नेपाल सरकारले प्रक्षेपण गरेबमोजिम आगामी केही वर्ष दिगो रुपमा उच्च आर्थिक वृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन आग्रह गरे।

उनले संघीय संरचनाअनुरुप स्थानी यतह, प्रदेश र संघीय सरकारले इमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गरे।

सो अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र स्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंकलगायत अन्य विकास साझेदार मुलुक तथा संस्थाबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा गरे।

भेटका अवसरमा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, आर्थिक सल्लाहकार रामशरण खरेल र विश्व बैंक नेपाल तथा आर्थिक वित्त निगम नेपालका प्रमुखलगायत विश्व बैंकका उच्च पदाधिकारी उपस्थित थिए।

प्रकाशित: १३ असार २०७६ ०३:४३ शुक्रबार

युवराज_खतिवडा विश्व_बैंक उपाध्यक्ष