अर्थ

बर्ड फ्लु पीडित किसानलाई ४ करोड ४२ लाख क्षतिपुर्ति

मकवानपुर– मकवानपुरका बर्ड फ्लु पीडित किसानहरुलाई क्षतिपुर्ति बापत ४ करोड ४२ लाख रुपैंया वितरण गरिएको छ। प्रदेश ३ को प्राकृतिक जलाशय प्रवद्र्धन एव्म संरक्षण केन्द्रले बुधबार हेटौंडा उपमहानगरपालिका ५४ जना किसानलाई क्षतिपुर्ति बापतको रकम वितरण गरेको हो।

सरकारी टोलिद्वारा नष्ट गरिएको बर्ड फ्लु संक्रमित कुखुराको रकम बापतको चेक बर्ड फ्लु रोग नियन्त्रण जिल्ला प्राविधिक समितिका अध्यक्ष एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हस्तान्तरण गरेका हुन्। हेटौंडाको वडा नम्बर ७, ८, १७ र १६ लगायतका ५४ जना किसानलाई ४ करोड ४२ लाख ११ हजार रुपैयाँ रकम प्रदान गरिएको हो।

हेटौंडाका विभिन्न वडामा बर्ड फ्लु संक्रमण देखिएको भन्दै ४८ वटा पोल्ट्री फार्मका ६६ हजार ५ सय ४६ वटा कुखुरा नष्ट गरिएको थियो। बर्ड फ्लु रोग नियन्त्रण जिल्ला प्राविधिक समिति मकवानपुरको बैठकको निर्णय अनुसार चैत्र ४ गतेदेखि कुखुरा, अण्डा र दाना नष्ट शुरु गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले प्रति कुखुरा लेयर्स ९ सय रुपैयाँ, बोईलर ४ सय रुपैयाँ, दाना प्रति केजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्ड फ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गरेको थियो। मकवानपुर कुखुरा व्यवसायी संघका अनुसार मकवानपुरमा करिब ३ हजार कुखुरा व्यवसायीको पालेको १५ लाख कुखुरामा झण्डै ६ अर्ब लगानी रहेको छ। 

प्रकाशित: ११ असार २०७६ १४:५५ बुधबार

बर्ड_फ्लु किसान क्षतिपुर्ति