अर्थ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब १३ करोड

भक्तपुर – आव ०७६/७७ का लागि भक्तपुर नगरपालिकाले दुई अर्ब १३ करोड १० लाखको बजेट पेस गरेको छ। पाँचौ नगरसभामा उपप्रमुख रजनी जोशीले कूल बजेट ४६.८३ प्रतिशत चालु खर्चतर्फ र ५३.१७ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको जानकारी दिइन्।

बजेटमा शिक्षा क्षेत्रलाई ३० करोड ७३ लाख ९६ हजार विनियोजन गरिएको छ। यो कुल बजेटको १४.४२ प्रतिशत हो। स्वास्थ्य क्षेत्रका लागि २५ करोड ५४ लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएको छ। भक्तपुरलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यसहित आगामी वर्ष भक्तपुर महोत्वस आयोजना गर्ने र त्यसका लागि एक करोड विनियोजन गरिएको छ।

भक्तपुरका परम्परागत साँस्कृतिक विधाहरुलाई जीवन्त बनाउन तथा साँस्कृतिकर्मी कलाकारहरुलाई जीवन जिउने आधारको रुपमा विकास गर्न साँस्कृतिक प्रदर्शनी केन्द्र संचालन गर्ने तयारीसहित बजेट विनियेजन गरिएको छ। नगरबासीहरुको खानेपानी समस्या न्यूनीकरण गर्न नगरपालिकाको तर्पmबाट पहल गर्ने र नगरका ठाउँठाउँमा भूमिगत पानीको स्रोत पहिचान गरी खानेपानीको व्यवस्था एवं खानेपानीको पाइप सुधारको लागि ३ करोड ८१ लाख बजेट विनियोजन गरिएको छ।

आर्थिक अवस्था कमजोर भएका तर शैक्षिक स्तर राम्रो भएका जेहेन्दार एवं मेधावी विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने हिसावले नगरपालिकाले शैक्षिक ऋण कोषको व्यवस्था गरेको छ। नयाँ आवका लागि नगरपालिकाले उक्त कोषमा ४ कारेड ९९ लाख ९० हजार रकम विनियोजन गरेको छ।

भक्तपुर नगरलाई आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यसहित आगामी वर्ष भक्तपुर महोत्वस आयोजना गर्ने र त्यसका लागि १ करोड रुपैंया विनियोजन गरिएको छ।

मंगलबार नगरसभामा पेश गरेको बजेटमा नगरको सम्पदा संरक्षण र विकास निर्माणलाई विशेष प्राथमिकता दिइएको छ। विश्व सम्पदा सूचिमा रहेको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्वार आगामी वर्ष गर्ने तयारीसहित बजेट विनियोजन गरिएको छ। प्रसिद्ध भैरवनाथ मन्दिर पुनःनिर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ भने भैरब मन्दिरको प्रवेशद्वार एवं बेतद्योछें पुनःनिर्माण समेत गर्ने तयारी भइरहेको नगरपालिका स्रोतले बताएको छ।

भनपा–१ स्थित ऐतिहासिक भाज्या पोखरी र पोखरीको मध्य भागमा अवस्थित जलेश्वर मन्दिरलाई मौलिक शैलीमा पुनःनिर्माण गर्न बजेट विनियोजन गरिएको छ। त्यस्तै सैनिक विद्यालय परिसरभित्र रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको रानीपोखरी पुनःनिर्माण कार्यलाई निरन्तरता दिने बजेटमा उल्लेख छ। उक्त पोखरी सर्वसाधारण जनताको लागि खुला गर्ने र पोखरीको दक्षिणतिर पार्क तथा पार्किङको व्यवस्था गर्ने सहमति नगरपालिका र नेपाली सेनावीच भएको थियो।

भनपा–२ स्थित औद्योगिक क्षेत्रलाई साना तथा घरेलु उद्योगमा आधारित वातावरणमैत्री तथा पर्यटकीय केन्द्र बनाउन पहल गर्ने योजना बजेटमा उल्लेख छ। त्यस्तै दरबार क्षेत्र परिसरमा जनज्योति पुस्तकालय रहेको पुरानो भवनलाई स्तरोन्नती गरी आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि कोसेली पसः बनाउने कार्यक्रम सहित बजेट विनियोजन गरिएको छ। बजेटमा खेलमैदान सुधार, व्यवस्थित कभर्ड हल तथा खेल मैदान निर्माण, बालोद्यान निर्माण र वडा वडामा शारीरिक व्यायाम स्थल विस्तार तथा व्यवस्थापन गर्ने उल्लेख छ।

आगामी वर्ष नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुका लागि आदर निकेतन संचालन गर्न अलग्गै बजेटको व्यवस्था गरिएको छ। किसानहरुको उत्पादनर्ला व्यवस्थित रुपमा सुपथ मूल्यमा विक्री वितरण गर्न तथा उपभोक्ता हितमा व्यवस्थित तरकारी बजार निर्माण गर्ने समेत बजेटमा उल्लेख छ।

नगरपालिकाले आधुनिक सुविधा सम्पन्न अरनिको सभाभावनको विस्तृत डिजाइन तथा लागत इष्टिमेट गरिसकेको अवस्था नयाँ आ.व.मा सभाभवन निर्माण कार्यलाई अगाडि बढाउन बजेटको व्यवस्था गरिएको छ। नगरको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन मुख्य चोक, गल्ली, सडक र सम्पदा क्षेत्रमा सी.सी. क्यामेरा र रात्रीकालीन बत्तीको व्यवस्था गर्ने बजेटमा उल्लेख छ।              

प्रकाशित: ११ असार २०७६ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App