अर्थ

ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ। मंगलबार ललितपुर महानगरपालिकाको ललितपुरमा आयोजित चौंथो नगरसभामा मेयर चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सो बजेट पेश गरेका हुन्। 

नगरसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढि पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ। पूर्वाधार विकासका लागि २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन गरिएको हो। मेयर महर्जनले पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कूल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको पनि जानकारी दिए। 

त्यसैगरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि १ अर्ब १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ। यो कूल बजेटको २१ दशमलव ७४ प्रतिशत हो। सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख ५ हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर, एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ। मेयर महर्जनले ललितपुर नगरलाई समुन्नत सांस्कृतिक सहर बनाउने मुख्य उद्देश्यका साथ बजेट, नीति तथा कार्यक्रम तय गरिएको स्पष्ट पारे। उनले बजेटमा पर्यटन विकासको माध्यामबाट आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको पनि बताए।

त्यसैगरी दीगो सहरी पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता, साँस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण, वातावरणमैत्री स्थानीय शासन व्यवस्था, अपांगमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रका सर्वसाधारणको पहुँचमा वृद्धि, गरिवी न्यूनिकरण, विषादीरहित करेसाबारी तथा कृषिमा आधुनिकीकरण, वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियानलाई पनि प्राथमिकता दिने बजेटमा उल्लेख गरिएको छ। बजेट, नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण र विपद् न्यूनिकरणलाई पनि प्राथमिकतामा राखिएको पनि मेयर महर्जनले बताए।

ललितपुर महानगरपालिकाले नगरलाई हरियाली बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा हरेक वडामा एक हरियाली पार्क’  निर्माण गर्ने घोषणा पनि गरेको छ।

प्रकाशित: १० असार २०७६ ०८:४० मंगलबार

ललितपुर_महानगरपालिका बजेट