अर्थ

कुखुरा दानाको भाउ बढ्यो

फाइल फोटो : पेलेट दाना

बनेपा – नेपालका दाना उद्योगीले कुखुराको सबैखाले दानाको भाउ बढाएका छन्। आइतबारदेखि लागू हुने गरी प्रतिकिलोमा दुईदेखि अढाई रुपैयाँ भाउ बढाएका हुन्। अब किसानले लेयर्स दानामा प्रतिबोरा (५० किलो) मा थप एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। यस्तै, ब्रोइलर दानामा प्रतिबोरा एक सय २५ रुपैयाँ थप तिर्नुपर्ने हुन्छ।

यस पटकको भाउ वृद्धिको कारकका रुपमा व्यवसायीले आर्थिक विधेयक ०७६/७७ लाई लिएका छन्। ‘कुखुराको दाना बनाउन प्रयोग हुने मुख्य कच्चा पदार्थ मकै र भटमासमा अघिल्लो वर्षदेखि लगाइएको कृषि सुधार करलाई छुट दिइएमा सस्तोमा दाना बनाउन सकिने र यसबाट अन्तिम फाइदा किसानलाई नै पुग्थ्यो भनेर अर्थ मन्त्री र अर्थ सचिवकहाँ डेलिगेसन गयौं। उहाँहरुले हाम्रा कुरा सुन्नु पनि भयो, तर विधेयक आउँदा छुटको सट्टा अरु कर दस्तुरसमेत थप भएर आयो,’ नेपाल दाना उद्योग संघका अध्यक्ष रबिन पुरीले भने।

दाना तथा सामग्रीको ढुवानी भाडामा समेत मूल्य अभिवृद्धि कर लगाइने व्यवस्थाबाट सबै तहमा मर्का परेको उनको भनाइ छ। ‘भिटामिन, मिनरललगायत फिड सप्लिमेन्टमा भन्सार महसूल पाँच प्रतिशत थियो, अहिले थप पाँच प्रतिशत लगाइएको छ। भटमासको पिनामा भन्सार महसुल पाँच प्रतिशत थियो, अहिले थप तीन प्रतिशत लगाइएको छ। मकैमा कृषि सुधार शुल्क घटेन। उल्टो ढुवानीमा समेत १३ प्रतिशत भ्याट थपिँदा विधेयकबाट प्रतिकिलो दानाको लागतमा एक रुपैयाँ २० पैसा थपियो,’ पुरीले भने।

विगतका सरकारले पनि मकै र भटमास आयात गर्दा कृषि सुधार शुल्कबापत पाँच प्रतिशत तिर्नुपर्ने नीति ल्याएका थिए। तर, स्वदेशी दाना उद्योगलाई बचाउन र नेपालमै मकै, भटमास पर्याप्त उत्पादन नहुँदासम्मलाई शुल्कमा केही छुट दिँदै अएको उनको भनाइ छ। ‘हामीलाई त्यो शुल्कबाट ३.४ प्रतिशत छुट दिइएको थियो। १.६ प्रतिशतमात्रै तिर्दै आएको हुँदा किसानलाई मर्का नपर्ने गरी दाना उत्पादन गरिरहेका थियौं। तर, अघिल्लो वर्षबाट त्यो छुट पनि पाइएन,’ पुरीले भने।

दाना उद्योगले फर्मुलेसनअनुसार कुखुराको दानामा मकै ६० प्रतिशत र भटमासको पिना २५ प्रतिशत अनिवार्य हाल्नुपर्ने बताउँदै आएका छन्। नेपाली मकै र भटमासले वार्षिक ३० प्रतिशतको हाराहारीमा मात्रै माग धान्ने गरेको छ। बाँकी मकैका लागि सबैभन्दा बढी भर भारतमा पर्दै आएका छन्। ‘कृषिप्रधान भनिए पनि नेपालमा उत्पादित मकै र भटमासले वार्षिक आवश्यकताको ३० प्रतिशत पनि माग पूरा गर्दैन। बाँकी परिमाणका लागि हामीले भारत, चीन, अमेरिकालगायत मकै उत्पादक देशको भर नपरी सुखै छैन,’ उनले थपे।

महाराष्ट्र र दक्षिण भारतका केही राज्यलाई भारत सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणासँगै त्यहाँको पोल्ट्री उद्योग बचाउन मकै भटमास निर्यात नगर्ने निर्णयले नेपाली बजारमा मकैको मूल्यसमेत आकासिएको पुरीको भनाइ छ। ‘शुक्रबारसम्म मकै किलोको काठमाडौं डेलिभरी मूल्य ३८ रुपैयाँ थियो। आइतबार ४० रुपैयाँ पुगेको छ। सबैभन्दा बढी चाहिने कच्चा पदार्थ मकैमा दिनहुँ भाउ बढ्ने क्रमसँगै उद्यमीलाई भाउ बढाउनै पर्ने अवस्था आइलाग्यो,’ उनले बाध्यता दर्शाए।

एकातिर भारतबाट मकै आउनेमा कमी हुनु र महँगो पनि भएकाले सीमाक्षेत्रका दाना उद्योगले यो सिजनको नेपाली मकै खरिद गरिसकेको पुरीको भनाइ छ। ‘नेपाली मकैले एक–दुई महिना थेग्थ्यो। त्यो पनि सीमाक्षेत्र नेपालगञ्ज, धनगढी र भैरहवाका उद्योगीले किनेका छन्। नेपाली मकै सकिने र भारतले नदिने क्रम चलिरहेमा अब युक्रेन, अमेरिका र चीनबाट मकै आयात नगरी सुख छैन। किनकी मकै नहुँदा दाना उद्योग पूर्ण रुपमा सञ्चालनमा आउन सक्ने छैनन्,’ पुरीले बाध्यता दर्शाए।

दानाको दोस्रो प्रमुख कच्चा सामग्री भटमासको पिनामा शतप्रतिशत आयातमै भर पर्नु परेको भए पनि त्यसमा एक÷दुई रुपैयाँ तलमाथि भइरहेकोले खासै फरक नपरे पनि मकैले धेरै फरक पारेको उनको भनाइ छ। ‘एकातिर नेपालमा उत्पादित मकैले उद्योगको माग धानेको छैन। अर्कातिर आयातित मकैमा पूरै कृषि सुधार शुल्क लगाइएको छ। यो शुल्कमा विगतझैं छुट पाएको भए किलोमा डेढ रुपैयाँसम्म कम लागतमा दाना उत्पादन गर्न सकिन्थ्यो,’ पुरीले भने।

नेपालमा फस्टाउँदो पोल्ट्रीजन्य व्यवसायको प्रमुख आधार मानिएको दानालाई मकै र भटमास उपलब्ध गराउने उद्देश्यले कृषि विकास विभागले आव ०६४/६५ देखि लगातार पाँच वर्षसम्म सरकारले मकै उत्पादनमा अग्रणी मानिएका नौ जिल्लामा मेज मिसन (अभियानमुखी मकै) कार्यक्रम सञ्चालन गरेको थियो। त्यसबखत केही हदसम्म नेपाली दाना उद्योगले मकै पाइरहेका थिए। तर, आव ०६९/७० बाट मेज मिसन कार्यक्रम खारेज भएलगत्तै दाना उद्योग पुनः भारतकै मकैमा भर पर्न बाध्य छन्।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०१७ मा नेपालमा चार लाख ८४ हजार सात सय ४५ टन मकै आयात भइ ११ अर्ब ४० करोड ६७ लाख रुपैयाँ बाहिरिएको छ। अन्य देशबाट पाँच हजार चार सय टन र बाँकी सबै मकै भारतबाट आयातित परिमाण रहेको छ। सो वर्ष मकैका लागि नेपालबाट भारतमा मात्रै ११ अर्ब सात करोड ४८ लाख रुपैयाँ गएको छ। यस्तै सोही वर्षमा दुई लाख दुई हजार तीन सय ३७ टन भटमास तथा यसको पिना आयात भएको देखिन्छ। भटमास र यसको पिनाबापत भारतमा मात्रै नौ अर्ब ३१ करोड रुपैयाँ गएको छ।
नेपाल दाना उद्योग संघका अनुसार मुलुकभर एक सय पाँच दाना उद्योग छन्। यिनमा पेलेट दाना बनाउने उद्योगको बाहुल्य रहेको छ। हाल दैनिक तीन हजार टन दाना उत्पादन हुँदै आएको छ। यही हिसाबले पनि दैनिक एक हजार आठ सय टन मकै कुखुराको दाना बनाउनकै लागि आवश्यक हुन्छ।

प्रकाशित: १० असार २०७६ ०४:११ मंगलबार

दाना_उद्योगी भाउ_वृद्धि किसान