अर्थ

साताको शेयर बजारः एक अर्ब ९१ करोडको कारोबार

काठमाडौं–धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो। सुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिमतिर आइपुग्दा उकालो लाग्ने संकेत ग–यो। यद्यपि कारोबार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल एक सय ७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता शेयर एक अर्ब ९१ करोड ४९ लाख ७५ हजार एक सय १२ मूल्यमा खरिद बिक्री भए। गत बिहीबार अर्थात् जेठ ३० गते एक हजार दुई सय ६९.५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से यस साताको सुरुको दिन अर्थात् असार १ गते आइतबार  ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा झ–यो। 

कूल एक सय ७४ कम्पनीका १४ लाख ७३ हजार आठ सय आठ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार आठ सय ११ रुपैयाँमा खरिद बिक्री भए। यस्तै निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक सोमबार भने सामान्य सुधार देखियो। सो दिन नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार दुई सय ६०.९० अंकमा पुग्यो।  कूल एक सय ७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर ४० करोड ३५ लाख ३८ हजार एक सय ४७ रुपैयाँमा खरिद बिक्री भए। स्टकका अनुसार कूल ११ उपसमूहको कारोबार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढ्यो। 

मंगलबार भने कारोबार मापक नेप्से परिसूचक पुनः ओरालो लाग्यो।  सो दिन परिसूचक २.२३ बिन्दुले घटेर एक हजार दुई सय ५६.६६ बिन्दुमा पुग्यो। घटेको बजारमा कारोबार रकममा पनि गिरावट आयो। कूल एक सय ७७ कम्पनीका १२ लाख २६ हजार ६ सय ८६ कित्ता शेयर ३५ करोड ९४ लाख ११ हजार तीन सय पाँच मूल्यमा कारोबार भयो। स्टकका अनुसार कारोबार भएका कबुल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयरमा वृद्धि भयो। 

साताको सुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पुनः ओरालो लाग्यो। परिसूचक ०.२० बिन्दुले घटेर एक हजार दुई सय ५८.४६ अंकमा पुग्यो। आज एक सय ६९ कम्पनीका ९ लाख ८० हजार ९ सय १९ कित्ता शेयर ३० करोड ४१ लाख ८९ हजार ६ सय ४५ मा खरिद बिक्री भए। 

यस्तै साताको अन्तिम दिन भने परिसूचक उकालो लागेर बन्द भयो।  सो दिन परिसूचक ५.९० अंकले बढेर एक हजार दुई सय ६४.३६ बिन्दुमा पुग्यो। परिसूचक उकालो लागे पनि कारोबार रकम भने सस्तैमा समेटियो। कूल एक सय ७१ कम्पनीका १३ लाख ७५ हजार पाँच सय ४१ कित्ता शेयर ३७ करोड ५३ लाख १५ हजार दुई सय चार रुपैयाँमा खरिद बिक्री भए। 

तीन कम्पनीका शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहीबार विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भएका छन्। मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका तीन लाख २९ हजार आठ सय ८९ कित्ता हकप्रद शेयर सूचीकृत भए।  स्टकमा जेविल्स फाइनान्स लिमिटेडका तीन लाख ४० हजार ९ सय ५५ कित्ता हकप्रद र तीन लाख ८९ हजार दुई सय ८१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ। रासस

प्रकाशित: ७ असार २०७६ १०:५८ शनिबार

नेप्से शेयर_कारोबार धितोपत्र