अर्थ

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। छापावाल सुनको मूल्य अहिलेसम्मको रेकर्ड तोड्दै बिहीबार प्रतितोला ६४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्य एक दिनमै हजार रुपैयाँ बढेर ६४ हजार पुगेको हो। एक दिनकै अन्तरमा अमेरिकी बजारमा सुनको मूल्य प्रतिऔंस ३६ डलरले बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब एक हजार अमेरिकी सेना इरान पठाउने निर्णय गरेसँगै अमेरिकी बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा परेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। ‘बुधबार अमेरिकी बजारमा १३ सय ४४ डलरमा बिक्री भएको सुन बिहीबार १३ सय ८० डलर पुगेको छ,’ शाक्यले भने, ‘मूल्य अझै बढ्ने प्रक्षेपण गरिएको छ।’

यो वर्ष (सन् २०१९) सुनको मूल्य १४ सय डलरसम्म पुग्ने सक्ने प्रक्षेपण भएको शाक्यले बताए। चीन र अमेरिकाबीचको व्यापाार द्वन्द्वको असर पनि सुन बजारमा परेको उनले बताए। ‘विश्व अर्थतन्त्रका दुई शक्तिशाली मुलुक चीन र अमेरिकाको ट्रेड वारको असर पनि सुन बजारमा देखिएको छ,’ उनले भने, ‘यी विविध विवाद नसुल्झिँदासम्म भाउ नबढ्ला भन्न सकिँदैन।’

सरकारले बजेटमा सुनको भन्सार महसुल बढाएकोले पनि त्यसको असर पनि परेको छ। ‘सुनमा प्रतितोला एक हजार रुपैयाँ भन्सार लगाएपछि ५९ हजारको सुन ६० हजार रुपैयाँ पुगेको थियो,’ बज्राचार्यले भने, ‘अहिले अन्तर्राष्ट्रिय बजारको प्रभाव परेको छ।’

अमेरिकाको केन्द्रीय बैंकमा अपेक्षित रुपमा ब्याज नबढेकाले पनि लगानीकर्ताले सुनमा लगानी गर्दा भाउ बढेको महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बताए। ‘अमेरिकीको लगानीमा सुन प्राथमिकतामा परेपछि भाउ बढेको हो,’ उनले भने। यसअघि नेपाली बजारमा सुनको अधिकतम मूल्य ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो।

डलरको भाउ र ब्याज पनि अपेक्षित नबढेकाले लगानीकर्ता सुनमा आकर्षित भएका हुन्। सुनमा लगानीकर्ता बढेपछि मूल्य उकालो लाग्छ। भाउ बढेपछि नेपाली बजारमा सुन बेच्ने बढे पनि किन्नेको संख्या घटेको छ। नेपाली बजारमा दैनिक करिब २० किलो सुन बिक्री हुने गरेकोमा भाउ एकाएक बढेपछि बिहीवार कारोबार राम्रो भएन। सुन बेच्नेहरु आए पनि किन्ने ग्राहक नपाएको व्यवसायीले बताएका छन्।
 

प्रकाशित: ६ असार २०७६ ०४:३३ शुक्रबार

नेपाली_बजार रेकर्ड सुनचाँदी_व्यवसायी_महासंघ