अर्थ

५५ अर्बको शेयर सूचीकृत

काठमाडौं–चालू आर्थिक वर्षको १० महिनामा कूल ५४ अर्ब ९६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा १० महिनामा २४ अर्ब ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर सूचीकृत भएको छ। यस्तै ९ अर्ब २२ करोड बराबरको हकप्रद शेयर, २० अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर लाभांश र ७५ करोड १७ लाख रुपैयाँ बराबरको ऋणपत्र गरी ५४ अर्ब ९६ अर्ब रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। 

नेपाल स्टक एकसचेञ्जमा सूचीकृत शेयरको चुक्ता मूल्य चार खर्ब १५ अर्ब २१ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। स्टकमा सूचीकृत कम्पनीको सङ्ख्या गत वैशाख मसान्तसम्म २०९ पुगेका छन्। सूचीकृत कम्पनीमध्ये १५० बैंक तथा वित्तीय संस्था, १९ वटा बीमा कम्पनी छन्। यस्तै कूल १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत् कम्पनी र चार÷चार वटा होटल तथा व्यावसायिक संस्था र चारवटा अन्य समूहका छन्। 

पुनर्कर्जाको उपयोग बढ्यो

उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह तथा निर्यात विस्तारमा समेत सहयोग पु–याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ। गत वैशाख मसान्तसम्ममा नेपाल राष्ट्र बैंकको २५ अर्ब २८ करोड पुनर्कर्जा लगानीमा छ। त्यसमा साधारण पुनर्कर्जा २१ अर्ब ५४ करोड र निर्यात पुनकर्जा एक अर्ब १९ करोड रुपैयाँ उपयोग भएको छ। यस्तै भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि वैशाख मसान्तमा दुई अर्ब ५१ करोड रुपैयाँ उपलब्ध गराइएको छ। त्यस्ता कर्जा एक हजार पाँच सय ७७ जना ऋणीले उपयोग गरेको बैंकले जनाएको छ। 

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ बमोजिम प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा लिनेको संख्या १५ हजार पाँच सय ४७ पुगेका छन्। सरकारले सहुलियतपूर्ण कर्जाका लागि कूल एक अर्ब १६ करोड रुपैयाँ ब्याज अनुदान प्रदान गरेको छ। रासस

प्रकाशित: ५ असार २०७६ १२:०२ बिहीबार

धितोपत्र सूचीकृत आर्थिक_वर्ष