अर्थ

११ महिनामा साढे ७ अर्ब राजस्व संकलन

रुपन्देही–आन्तरिक राजस्व कार्यालय बुटवलले गत आर्थिक वर्षमा भन्दा यो वर्ष ३२ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। चालू आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म सात अर्ब ४२ करोड २६ लाख ९ हजार रकम संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए। गत आर्थिक वर्ष २०७४/७५ मा जेठ मसान्तसम्म पाँच अर्ब ६० करोड राजस्व संकलन भएको थियो। 

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा आर्थिक गतिविधि बढ्न थालेकाले कर स्थानीय तहमा पुगे पनि त्यसको कुनै असर नपरेको प्रमुख कर अधिकृत ढकालको भनाइ छ। ‘मुख्य रुपमा बहाल कर स्थानीय तहमा गएको छ, यसले राजस्वमा केही असर त पारेको छ तर, समग्रमा संकलनका हिसाबले देशभरमै अग्रपंक्तिमा आएको छ,’ उनले भने। 

बुटवल कार्यालयले चालू आर्थिक बर्षको जेठ मसान्तसम्म सबैभन्दा धेरै अन्तशुल्कबाट चार अर्ब ९३ करोड ३७ लाख राजस्व संकलन गरेको छ। यस्तै आयकरबाट एक अर्ब ३२ करोड ७७ लाख, भ्याटबाट ९२ करोड २१ लाख, ब्याजकरबाट १४ करोड ५८ लाख राजस्व संकलन भएको छ। 

यसै गरी सरकारले स्वास्थ्य र शिक्षा सेवा कर नलिने बताए पनि पुराना कर भने संकलन गरेको कार्यालयले जनाएको छ। स्वास्थ्य सेवा करबाट एक करोड ६ लाख, शिक्षा शुल्क एक करोड दुई लाख र बहाल करबाट सात करोड २० लाख राजस्व संकलन भएको छ। बहाल कर लिने अधिकार भने अहिले स्थानीय तहमा गएको छ। आन्तरिक राजस्वले भने अहिले पूरा बक्यौता कर संकलन गरेको कर प्रमुख ढकालले जानकारी दिए। 

यस कार्यालयअन्तर्गत ४७ हजार ६ सय ७६ व्यवसायीहरु करको दायरामा छन्। व्यक्तिगत पान २८ हजार दुई सय ९१, भ्याटमा सात हजार तीन सय ५१, अन्तशुल्क चार हजार एक सय २९ करदाता रहेको कार्यालयले जनाएको छ। यो चालू आर्थिक वर्षमा १७ हजार चार सय ७९ नयाँ करदाता थपिएको प्रमुख कर अधिकृत ढकालले जानकारी दिए। 

 

प्रकाशित: ५ असार २०७६ १०:२७ बिहीबार

आन्तरिक_राजस्व_कार्यालय राजस्व_संकलन