अर्थ

भारतद्वारा डेढ अर्बको चेक हस्तान्तरण

काठमाडौं – भारतले नेपाललाई एक अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।सोमबार अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले अर्थसचिव राजन खनाललाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन्।

भारत सरकारले आवास पुनर्निर्माणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो।हालसम्म भारतले नेपाललाई चार अर्ब ५० करोड प्रदान गरिसकेको काठमाडौंस्थित भारतीय दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीले घर पुनर्निर्माण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा नेपाल सरकारले भूकम्पपछिको पुनर्निमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहना गरेको छ।सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको दोहो¥याए।
 

प्रकाशित: २८ जेष्ठ २०७६ ०४:२१ मंगलबार

चेक भारतीय_राजदूत मन्जीवसिंह_पुरी