अर्थ

त्रिशूली–मातातीर्थ प्रसारण लाइनको ओभरहेड टेस्ट

रसुवा - त्रिशूली–मातातीर्थ २२० केभी प्रसारण लाइनको आइतबार ओभरहेड टेस्ट गरिएको छ। यसअघि चारवटै सर्किटको केबल टेस्ट गरिएको थियो। सबै परीक्षण सकिएकाले आइतबार प्रसारण लाइनको ओभरहेड टेस्ट गरिएको आयोजनाले जनाएको छ।

रसुवा र नुवाकोटमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली जोड्न यो प्रसारण लाइन निर्माण गरिएको हो। माथिल्लो त्रिशूली थ्री ‘ए’को पहिलो युनिटबाट उत्पादन गरिएको बिजुलीको ३० मेगावाट एउटा सर्किटबाट लगेर परीक्षण गरिएको छ।

थ्री बी हबदेखि मातातीर्थ सबस्टेसनसम्म ४५ किलोमिटर दूरी छ, जसमा पावरहाउस (सिम्ले)देखि थ्री बी हबसम्म १३२ केभी, थ्री बी हबदेखि बाँडभञ्ज्याङसम्म २२० केभी डबल सर्किट र बाँडभञ्ज्याङदेखि मातातीर्थसम्म २२० केभी फोर सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।

मातातीर्थदेखि मातातीर्थ सबस्टेसनसम्म १.४१ किलोमिटर भूमिगत लाइन निर्माण गरिएको आयोजनाले जानकारी दिएको छ। प्रसारण लाइनका लागि एक सय ४२ टावर निर्माण गरिएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए।

करिब एक हजार मेगावाट क्षमता भएको प्रसारण लाइनको लागत २२.५ मिलियन अमेरिकी डलर रहेको छ। माथिल्लो त्रिशूली थ्री ‘ए’ले उत्पादन गर्ने समयसीमा तोकेसँगै प्रसारण लाइन निर्माणमा दबाब आएको थियो। जनशक्ति थप गर्ने, स्रोत साधन थप गर्ने लगायत काम समय सीमाभित्रै निर्माण गरिएको हो।
 

प्रकाशित: २७ जेष्ठ २०७६ ०४:२५ सोमबार

त्रिशूली मातातीर्थ ओभरहेड_टेस्ट प्रसारण_लाइन