चितवन–माडी नगरपालिका–८ कान्तिपुरका ७३ वर्षीय गंगालाल गायकले आफ्नो ३४ कट्ठा जग्गामा खेतीपाती गर्दै आएका थिए। २०२१ मा कान्तिपुर आएका उनले उर्वर र मलिलो माटो भएकाले एक बिघामा ७५ मुरीसम्म धान फलाएका थिए। पछिल्ला वर्षमा भने उत्पादन घट्दै गएको उनी बताउँछन्। एक बिघामा गर्ने धान खेतीले उत्पादन घटेर ४० मुरीसम्म भएको उनले अनुभव गरेका छन्।
खेतीपाती गर्दा काम गर्ने मानिस नपाउने, उत्पादन गर्न लाग्ने खर्च र आम्दानी बराबर हुन थालेको थियो। त्यसैले खेतीप्रति उनी उत्साहित पनि थिएनन्। अहिले सामूहिक खेतीले भने उनलाई उत्साहित बनाएको छ। त्यसैले आफ्नो खेतबारी उनले अहिले सामूहिक खेती गर्नका लागि दिएका छन्। सामूहिक खेती गर्नका लागि कान्तिपुरबासी एकजुट भएका छन्। सामूहिक खेती गर्न गएको चैतमा सुर्योदय कृषि सहकारी संस्था स्थापना गरेका हुन्।
सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार सामूहिक खेतीमा करिब एक सय बिघा जमिन समेटिनेछ। खेती गर्नका लागि अहिले भिरालो, अमिल्दो जमिन सम्याउने, साना–साना टुक्रा जमिनलाई जोडेर प्लट बनाउने काम भईरहेको छ। अहिलेसम्म करिब ४० बिघा जमिन सम्याएर प्टल बनाईएको छ। सामूहिक खेतीमा पहिलो पटक करिब ५० बिघा जमिनमा धान खेती गर्ने तयारी सहकारीले गरेको छ। त्यसका लागि २१ क्विन्टल धानको बिउ खरिद गरेर बीउ राख्ने तयारी गरिएको छ।
‘हामी हातेमालो गर्दै जानेछौं’ उनी भन्छन्, ‘कसरी किसानलाई फाईदा हुन्छ सोही अनुसार जान्छौं।’ सामूहिक खेती सुरु गरिएको ठाउँ कान्तिपुरलाई कृषि, पर्यटनको हबको रुपमा विकास गर्न प्रदेश सरकारले समेत सहयोग गरेको छ। जमिनलाई चक्लाबन्दी गराउन २५ लाख र तरकारी खेती गर्न टनेल बनाउन २५ लाख रुपैयाँ कृषि ज्ञान केन्द्र मार्फत प्रदेशले सहयोग गरेको छ। सहकारीलाई कृषि उपकरण खरिद गर्न ८० लाख रुपैयाँ अनुदान समेत दिईएको सहकारीका सेयर सदस्य शिवजी गायकले जानकारी दिए। त्यसबाट जमिन सम्याउने, धान काट्ने, गहुँ काट्ने, जमिन सम्याउने, ट्याक्टर, कम्बाइन हार्भेस्टर लगायतका कृषि उपकरण खरिद गर्ने तयारी गरिएको छ।
परम्परागत रुपमा खेतीपाती गर्दै आएका किसान बीच आधुनिक तरिकाले खेती गर्ने विषयमा छलफल भएपछि सहकारी गठन गरेर सामूहिक खेती गर्ने काम थालिएको सहकारीकी कोषाध्यक्ष सावित्री रेग्मी बताउँछिन्। उनको २७ कट्ठा जमिन सामूहिक खेती गर्नका लागि दिएकी छिन्। ‘नाफा, घाटा जे हुन्छ सबै मिलेर बेहोछौं’ उनले भनिन्, ‘उत्पादन बढाउन उन्नत बीउ, बीजन, मलको प्रयोग गर्नेछौं।’ पहिलो वर्ष सामूहिक खेतीबाट एक कट्ठाको एक मुरी धान जग्गा धनीलाई दिईने छ।
पहिलो वर्ष लगानी धेरै लाग्ने र खर्च धेरै हुने भएकाले थोरै धान दिने निर्णय गरिएको हो। अर्को वर्षदेखि खर्च कटाएर हुने आम्दानी जग्गा उपलब्ध गराए अनुसार भाग लगाएर दिईने उनले बताइन्। सामूहिक खेतीका लागि एक किसानले ३ कट्ठादेखि बढीमा ४ बिघासम्म जमिन दिएका छन्। ८६ घर परिवारका ९६ जनाको जग्गा समेटिएको छ। सामूहिक खेतीमा ३४ परिवार ब्राह्मण/क्षेत्री, ३ परिवार जनजाती र ४९ परिवार दलित समुदायबाट सहभागी भएका छन्।
सय बिघा जमिन मध्ये ५० बिघामा धान, गहुँ, मकै लगायत अन्नबाली, २५ बिघामा तरकारी र बाँकी २५ बिघामा माछापालनसागै पशुपालन गरिने तयारी गरिएको सेयर सदस्य गायकले जानकारी दिए। यसपटक भने धान र तरकारी खेती गरिनेछ। तरकारी खेती गर्न आठ कट्ठामा टनेल बनाइने छ। सोमबार प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सामूहिक खेतीस्थलको अवलोकन गरेका छन्। सामूहिक खेती गर्नुको खास उद्देश्य यान्त्रिकीकरणमा जोड दिएर उत्पादनलाई बढाउने, खर्च कम गराउने र अन्तरविरोध हटाउने रहेको उनले बताए।
माडीमा सामूहिक खेतीको जन्म भएको बताउँदै उनले सामूहिक खेतीबाट लाभ पाउन समेत धेरै समय लाग्ने भएकाले सुरु मै नआत्तिन पनि अनुरोध गरे। अभ्यास सुरु भएको पहिलो वर्षमै निराश नभई मेहनत गर्नुपर्ने उनी बताउँछन्। ‘पर्यटकीय क्षेत्र र गन्तब्य बनाउन खोजिएको हो,’ उनले भने, ‘माडीको दुर्गमलाई सुगम बनाउने र यहाँको माटोमा उत्पादन गरेर पर्यटकीय गन्तब्य बनाउने लक्ष्य हो।’ प्रदेश सरकारको तर्फबाट गाईपालन र बाख्रपालन गर्न गोठ बनाउन सहयोग गर्ने उनले बताए। यसले सामूहिक खेतीलाई आवश्यक मल पनि उत्पादन हुन्छ। अनुदानमा मात्र भर नपरी किसानले पनि लगानी गर्नुपर्ने उनको सुझाव छ। आफैं आत्मनिर्भर भएमा अरुको भर पर्नुनपर्ने उनी बताउँछन्।
प्रकाशित: २६ जेष्ठ २०७६ ०५:४३ आइतबार